आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी

साउनमा सात्विक खानपान गर्नुपर्छ भनिन्छ । सात्विक, जो सहजै पच्छ, सन्तुलित, पोषणयुक्त र स्वादिलो पनि हुन्छ । सात्विक आहारमा सत्व गुण भरिपूर्ण हुन्छ । यस्तो खानाको सेवनले तन र मन शुद्ध हुने, शक्ति मिल्ने, सुन्दरता र प्रशन्नता मिल्ने बताइन्छ ।
आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी । अतः प्याज र लसुनलाई तामसिक एवं राजशी खानामा राखिएको छ । अतः सात्विक भोजनमा प्याज र लसुन निषेध गरिएको छ ।
प्याज र लसुनको आफ्नै औषधिय गुण भएपनि यसको सेवनले शरीरलाई उत्तेजित बनाउने, ताप बढाउने बताइन्छ ।

प्याज र लसुन दुबैमा पाइने गुण लगभग एकै हुन्छ । दुबैमा एलियम नामको तत्व रहेको हुन्छ । औषधिय गुण पनि हुन्छ । तैपनि यसलाई तामसिक खानाको श्रेणीमा राखिएको छ । तामसिक खानाले शरीरमा यौन उत्तेजना बढाउँछ । यसका साथै मानसिक स्वास्थ्यमा पनि यसले असर पु¥याउने आयुर्वेदमा उल्लेख गरिएको छ ।

खासगरी सात्विक जीवनशैलीमा अभ्यस्तहरुले खानामा प्याज, लसुन सामेल गर्दैनन् । कतिपयले साउन महिनाभर मात्र पनि यी दुई कुरा खाँदैनन् ।

कतिपयले भने वर्षायाममा लसुन वा प्याजलाई खानामा समावेश गर्नुपर्नेमा जोड दिने गरेका छन् । खासगरी संक्रमाक रोगहरुबाट बच्न लसुन वा प्याजको सेवन उपयोगी हुने बताइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । आयुर्वेद अनुसार प्याज र लसुन तामासिक एवं राजशी खानामा सामेल हुने भएपनि औषधि बनाउनका लागि यी दुबैको प्रयोग गरिन्छ । यसमा औषधिय गुण जस्तो कि, एन्टि ब्याक्टेरियल, एन्टि फंगल र एन्टिल भइरल गुण रहेको हुन्छ । मुटुको स्वस्थ्यका लागि वा रगतमा चिनीको मात्रा नियन्त्रण गर्नका लागि लसुन र प्याज उपयोगी मानिन्छ ।

किन सात्विक भोजन ?

हल्का र स्वस्थ भोजन नै सात्विक भोजन हो । यो न ज्यादा मीठो हुन्छ, न त ज्यादा नुनिलो पिरो नै हुन्छ । सात्विक भोजनले मनलाई शान्त गर्नुका साथै शरीरलाई शुद्ध गराउन समेत मद्दत गर्दछ । योगी र मुनिहरुले समेत सात्विक भोजनको सेवनलाई उपयुक्त मानेका छन् । स्वयं ऋषिमुनीहरु समेत सधैं सात्विक भोजन मात्रै गर्दथे । योगी आहार समेत भएकोले यो हाम्रो शरीरको लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि सहजै पत्तालगाउन सकिन्छ । जसरी तामसिक भोजनले आलस्य बढाउँछ भनिन्छ, त्यसरी नै राजसिक भोजन पचाउनकोलागि समस्या हुने आयुर्वेदमा उल्लेख छ । तर, सात्विक भोजन पचाउनमा सहज, हल्का र ऊर्जावान हुने गर्दछ । सात्विक भोजनको उदाहरणको रुपमा ताजा फल, तरकारीहरु, हरियो तरकारी आदिलाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस