आफ्नै पार्टीका नेताहरुसंग असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीले गरे यस्तो घोषणा

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको संकट नबुझ्ने गैरजिम्मेवारपन आफ्नै पार्टीमा रहेको बताएका छन्। नेकपाकै नेताहरु प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले संकटका बेला जिम्मेवार हुनुपर्ने बताएका छन्। कोभिड महामारी रोकथामका बारेमा विषय विज्ञ तथा विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्रीले संकटलाई गम्भीर रुपमा लिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले मुलुकको संकटप्रति लापरवाही र जनताप्रति उदासीन हुन नमिल्ने बताए।

सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएका बेला पार्टीभित्रै केन्द्रीय कमिटी बैठकको माग भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन, मेरै पार्टीमा देखिन्छ”, प्रधानमन्त्री ओलीले भने।

संकटको बेलामा केही सञ्चार माध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको प्रधानमन्त्री ओलीले बताए। विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरे।

‘‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्, संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ”, प्रधानमन्त्री ओलीले भने। विज्ञहरुसँगको छलफलका क्रममा ओलीले संकटको बेलामा आफ्नै पार्टीबाट रोग नियन्त्रणका लागि असहयोग भएको भन्दै केन्द्रीय कमिटि बैठक नबोलाउने घोषणा गरेका हुन्। ओलीले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदाशिन हुदै स्वार्थका पछाडी कुदेको आरोपसमेत लगाए।

पार्टीभित्र देखिएको समस्या समाधान केन्द्रीय कमिटीबाट हुुनुपर्ने माग गर्दै साउन १४ गते १५२ जना केन्द्रीय सदस्यले बैठकको माग गरेका थिए। विधान अनुसार २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएमा एक महिनाभित्र बुझाउनु पर्ने व्यवस्था छ। तर ओलीले कोरोना संक्रमण हुने अवस्थामा बैठक बोलाउन कहीँ नभएको सोच आफ्नै पार्टीमा भएको बैठक नबोलाउने घोषणा गरेका हुन्।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ। तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन।’ ‘तर बैठक चाहि चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ।’ विवादकै कारण नेकपा स्थायी समिति बैठक असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको छ। ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस