सुनको मूल्यमा भारी गिरावट, ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ, साउन २९ गते । प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा एकै दिन छ हजार दुई सय रुपियाँले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपियाँ रह्यो । त्यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपियाँ कायम रह्यो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेर एक हजार २१० रुपियाँ प्रतितोला कायम भएको छ । बुधबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार ८८४ डलर पुगेका आधारमा नेपाली बजारमा मूल्य तय भएको हो ।
नेपाली बजारमा गत शुक्रबार सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख तीन हजार पाँच सय रुपियाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा गत साता प्रतिऔँस दुई हजार डलरभन्दा माथि पुगेको मूल्य एकै दिन १३६ डलरसम्मले
घटेको छ ।

मङ्गलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको खोप तयार भएर प्रयोग गर्न सकिने अवस्थामा पुगेको र छिटै ठूलो परिमाणमा उत्पादन सुरु गरिने समाचार बाहिरिएसँगै सुनको मूल्यमा गिरावट आउन थालेको अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले जनाएका छन् । यद्यपि रुसले खोप बनेको दाबी गरे पनि अरू देशले त्यसलाई पूर्ण विश्वास नगरेका कारण अझै सुन बजार अस्थिर देखिएको छ ।
त्यस्तै गत साताको अन्त्यतिर डलरको मूल्य पनि केही सुधार आएकाले सुनको मूल्य घट्न थालेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार आठ सय डलरसम्म झर्न सक्ने अनुमान गर्न थालिएको छ ।
किलोका किलो सुन
नेपाली बजारमा सुनको मूल्य छ अङ्कले उकालो लाग्न थालेसँगै वाणिज्य बैङ्कहरूबाट दैनिक ४० किलोसम्मको सुन बिक्री हुँदै आएको छ । व्यवसायीले भने कारोबार ठप्प रहेको बताउँदै आएका छन् ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार विगत दुई सातामा करिब १४० किलोभन्दा बढी सुन बिक्री भइसकेको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा भन्नुहुन्छ, “नेपाली बजारमा मूल्य एक लाख रुपियाँमाथि जान थालेपछि माग पनि बढ्न थालेको छ । लगानीकर्ताले अझै मूल्य बढ्ने अनुमान गरेर सुन किन्न थालेका छन् । ”
सङ्घका अनुसार वाणिज्य बैङ्कहरूमा करिब ३३० किलो जति स्टक रहेकोमा
अब घटेर एक सय किलोभन्दा कम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस