बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना भाईरस (कोभिड–१९)संक्रमित भएकी छिन्। हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफुँपनि संक्रमित भएको अनुमान उपसभामुखले गरेकी छन्। ‘उहाँको कोरोना परीक्षणका लागि दुई पटक स्वाब दिनु भएको थियो,’ स्वकीय सचिव एलिशा थापाले भनिन्, ‘सङ्क्रमण पुष्टि भएपछि उपसभामुख ज्यु हेटौंडास्थित सरकारी आवासमा सेल्फ आईसोलेशनमा रहनुभएको छ।’

उपसभामुख तामाङले आफुसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको उनले बताईन्। सामान्य रुघाखोकी देखा परेपनि अन्य स्वास्थ्य समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिइन्।

यसैबीच, पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्ला घर भई मकवानपुरमा कार्यरत ११ जना पुरुष प्रहरी कोरोना सङ्क्रमित भएको हेटौंडास्थित आइसोलेसन वार्डका प्रमुख एवं हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए।

प्रतिक्रिया दिनुहोस