इन्टर मिलान युरोपा लिगको फाइनलमा, लुकाकु र मार्टिनेज चम्किए

एजेन्सी, २ भदाै । इटालियन क्लब इन्टर मिलान युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि ५-० को सानदार जित निकाल्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेकाे हाे ।

इन्टर मिलानलाई शानदार जित दिलाउनकाे लागि फरवार्डद्धय लोउटारो मार्टिनेज र रोमेलु लुकाकु चम्किए । मार्टिनेज र लुकाकु समान दुई दुई गरे भने एक गोल ड्यानियल डि एम्ब्रुसियोको नाममा रह्यो ।

पहिलो हाफमा १-० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा चार गोल थप्न सफल भएको थियो । खेलको १९औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए । निकोलो बरेल्लाको क्रसमा मार्टिनेजले हेडरमार्फत गोल गरेका थिए ।

६४  औं मिनेटमा ड्यानिलो डि एम्ब्रुसियोले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारे । मार्सेलो ब्रोजोभिकको कर्नरलाई एम्ब्रुसियोले गोलमा परिणत गरेका थिए ।

७४औं मिनेटमा रोमेलु लुकाकुको पासमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० ले अघि बढाए । त्यसपछिको दुई गोल लुकाकुको नाममा रह्यो । उनले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै इन्टरलाई फराकिलो जित दिलाए ।

 

प्रतिक्रिया दिनुहोस