७ करोड ३५ लाखमा बिक्यो एक जोर पुरानो जुत्ता

काठमाडौं। एक जोर जुत्ता, त्यो पनि ३५ वर्ष पुरानो। त्यस्तो पुरानो जुत्ताको मूल्य कतिसम्म पर्ला? पुरानो एकजोर जुत्ताको मूल्य ७ करोड ३५ लाख रुपैयाँ पर्दछ भन्ने कुरा सायद कसैले पत्याउन सक्ने कुरा होइन। तर हालै एक अमेरिकी पूर्व बास्केटबल खेलाडीले लगाएको पुरानो जुत्ता ७ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ।

अमेरिकाका महान बास्केटबल खेलाडी तथा अमेरिकी बास्केटबलको ड्रिम टिमका एक सदस्य माइकल जोर्डनले लगाएका ३५ वर्ष पुराना एकजोर जुत्ता ६ करोड १५ लाख डलरमा बिक्री भएका हुन्।

क्रिस्टी अक्सन हाउसका अनुसार हालैको लिलामीका क्रममा ती जुत्ताले कीर्तिमान कायम गर्न सफल भए। जोर्डनका जुत्ताले केही महिना अगाडि समेत कीर्तिमान कायम गर्न सफल भएकोमा पछिल्लो पटक आफ्नै कीर्तिमान भंग गरेका हुन्। गत मेमा जोर्डनका सोही ब्राण्डका जुत्ता ५ लाख ६० हजार डलरमा लिलाम भएका थिए।

नाइकी कम्पनीको एयर जोर्डन वान हाइज (Air Jordan 1 Highs) नामक उक्त जुत्ता माइकल जोर्डनले सन् १९८५ मा इटालीमा भएको एक मैत्रीपूर्ण बास्केटबल खेलका क्रममा लगाएका थिए। उक्त खेलका क्रममा जोर्डनले यति जोडसँग बल फ्याँकेका थिए कि बलले लागेर ब्याकबोर्डको काँच नै टुटेको थियो।

सेतो, रातो र कालो रङ मिसिएको उक्त जुत्ता जोर्डनको टिम शिकागो बुल्सको जर्सीमा लगाइने जुत्ता हो। जुत्ता १३.५ नम्बरको छ। जोर्डनका जुत्ता कीर्तिमानी मूल्यमा खरीद गर्ने खरीदकर्ताको नाम खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस