मेरा धेरै साथीहरू थिए । मेरा धेरै साथिहरु छन भनेर सधैं घमण्ड गर्ने गर्थें । मेरो बुबाको एउटै मात्र साथी थिए तर उहाँ असल थिए । एक दिन बुबाले मलाई भने, “छोरा, तिम्रा धेरै मित्रहरू छन् भनेर तिमी सधैं घमण्ड गरी रहन्छौ । यसो गरौं न, आज राती तिम्रो सबैभन्दा राम्रो, असल र मिल्ने साथीलाई जाँचौं न, हुन्न र ?” म खुशीसाथ तयार भएँ ।
राति २ बजे हामी दुबै बाबू-छोरा मेरो नजिकको साथीको घरमा पुग्यौं, मैले आवाज दिएर मेरो साथीको घरको ढोका ढकढक्याएँ, ढोका खुलेन, बारम्बार ढोका ढकढक्याएपछि भित्रबाट मेरो साथीले आफ्नी आमालाई भन्छ, “आमा त्यसलाई भनी देऊ म घरमा छैन ।” यो सुनेर म धेरै निराश भएँ र बुवाको अगाड़ी लज्जित पनि । दुबै त्यहाँ बाट फर्कियौं ।
फेरी बुबाले भन्नुभयो, “छोरा, ल हिन्, आज म तिमीलाई मेरो साथीसँग परिचय गराऊँछू !” दुबै बुबाको साथीको घरमा पुग्यौं । बुबाले आफ्नो साथीलाई आवाज लगाएर बोलाउनु भयो । भित्र बाट उत्तर आयो, “एक्कै छिन है साथी, ढोका खोल्छु ।” जब ढोका खोलियो, बुबाको साथीको एक हातमा झोला थियो र अर्को हातमा तरवार थियो । बुबाले सोधे, “यो के हो मित्र ?”
बुवाका मित्रले भन्नुभयो, “मेरो साथीले रातको दुई बजे मेरो ढोका ढकढक्याऊँछ भने, ऊ पक्कै पनि समस्यामा होला । प्रायः दुई प्रकारका समस्याहरु हुने गर्दछ्न, कि त पैसाको आवश्यकता पर्यो होला वा कसैसँग झगडा भयो होला । त्यसैले मैले आफ्ना मित्रका लागि यो झोलामा पैसा ल्याएर आएको छु । मित्र, यदि तिमीलाई पैसा चाहिएको छ भने, यो पैसाको झोला समात, होइन यदि तिम्रो कसैसँग झगडा परेको हो भने, हिन यो तरवार लिएर म तिमी सँग जान्छु ।” म छक्क परेर उहाँलाई हेरी रहेको थिएँ । उता, आफ्ना रसाएका आँखाका साथ बुवाले आफ्नो साथीलाई भने, “होइन साथी, मलाई केहि पनि चाहिंदैन, म त आफ्नो छोरालाई यो देखाउन मात्र ल्याएर आएको थिएँ कि एउटा असल मित्र कस्तो हुन्छ।”
अब मैले राम्रै सँग बुझी सकेको थिएँ कि मित्र एउटै होस् तर “असल” होस् ।