हिजो ह्वातै घटेको सुनको मुल्य आज कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । बिहिबार तोलामा ९८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० रुपैयाँ पुगेको छ ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले ऐतिहासिक विन्दु छुने क्रम रोकिएको छैन । मंगलबारमात्रै १ हजार ९ सय ६८ डलर प्रतिऔँसको विन्दुलाई छोएर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यमा बुधबार केही कमी आए पनि सुनको मूल्यको ट्रेन्ड यतिबेला उन्नतोदरतिरै छ । विश्व बजारले २ हजार डलर प्रतिऔँस र नेपाली बजारले १ लाख रुपैँया प्रतितोलाको मूल्य निर्धारणलाई प्रतिक्षा गरिरहेको जस्तो देखिन्छ । तर, मूल्य यो विन्दु छोएर पनि पुरानो लयमा फर्किएला भन्ने अनुमान भने कसैले गरेका छैनन् ।

सुनको मूल्य यसरी निरन्तर रुपमा बढ्दै जानुलाई डलरप्रतिको अविश्वासको रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर र सुन दुवैलाई लगानीको सुरक्षित क्षेत्र मानिने गरिएकोमा कोरोनाभाइरससँगै अमेरिकी अर्थतन्त्रमा देखिएको संकटका कारण डलरप्रतिको विश्वसनीयता गुम्दै गएको देखिन्छ । उता अमेरिकाको फेडेरल रिजर्भले पछिल्लो समय अत्यधिक डलर बजारमा प्रवाह बढाउँदै लैजाँदा यसले थप जोखिम सिर्जना गरेको छ । यही कारण लगानीकर्ताहरुले डलरको लगानीलाई सुनतिर सिफ्ट गर्न थालेकोले पछिल्लो अवस्था देखिएको हो । सोही कारण युरो, पाउण्ड स्टर्लिङ, युआन, येन जस्ता ठूला अर्थतन्त्र भएका मुलुकको मुद्रासँग डलरको विनिमयदर यतिबेला घट्दै गएको छ । अर्थात् १ अमेरिकी डलर किन्न तिर्नुपर्ने ती मुद्राको मात्रा घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस