कास्की – पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।
सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उहाँमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे ।
दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उनका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
“आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए ।” उनले भने,“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वाटीका झोल पिएर अहिले निको भएको छु ।”
आइसोलेशनमा बस्दा पर्याप्त दूरी कायम भएकाले परिवारका अन्य सदस्यलाई सङ्क्रमण नदेखिएको तथा आफूले व्यक्तिगत समस्या नभोगेपनि कोरोनाका बिरामीलाई समाजले हेर्र्ने र गर्र्ने व्यवहारबाट बिरामीमा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गरेमा अस्पतालमा भन्दा होम आइसोलेशन बढी सुरक्षित रहेको उनको भनाई छ ।
होम आइसोलेशनमा बस्नेको उपचारको जिम्मा स्थानीय तहमा रहेकाले एक जना स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरेको अधिकारीले बताए ।
अधिकारीजस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरामा होम आइसोलेशनमा बसेका आठ जना शुक्रबार पहिलोपटक कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेशनमा रहेका थिए । होम आइसोलेशनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक÷एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
सरकारले पनि पछिल्लो पटक सङ्क्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका तथा सामान्य लक्षण भएका सङ्क्रमित व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने गरी सुविधा दिएको छ ।
“सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएका तथा होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जना फलोअप परीक्षण नतिजा नेगेटिभ आएपछि कोरोेनामुक्त भएका छन् ।”महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।