आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी

काठमाडौँ, ११ भदौ । आज बिहानदेखि नै देशभरको मौसम सामान्य बदली छ । केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका केही स्थानमा यस्तै मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक—दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै, राति पनि केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

साथै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भूभागनजिक छ । साथै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको पनि प्रभाव परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस