३ बर्ष देखि मरेकी आमाको शरीर फ्रिजमा राखेर आमाको नाममा आउने पेन्सन खान्थे……

भारतमा एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको पाइएको छ । छिमेकी र नातेदारले समेत थाहा नपाउनेगरी आमाको शव फ्रिजमा राख्नुको कारण भने अचम्मको छ ।

कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि शवलाई फ्रिजमै राखेका हुन् ।आमाको शव सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए ।
मृत्यु भएकी आमाको पेन्सन खान उनले यो जुक्ति निकालेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । तर उनले मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।

उनको यस्तो हर्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।अभियुक्त छाला प्राविधिक भएकाले मृत शरीर जोगाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले केमिकलको प्रयोग गरी आमाको शवलाई सुरक्षित राखेका थिए ।

सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृत्यु भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कतै पनि गरेनन् । उनले सुटुक्क शवलाई फ्रिजभित्र राखे ।

त्यसयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । त्यसका लागि उनले हरेक महिना मृत आमाको औंठाछाप लगाउँथे र डेविटकार्डमार्फत पैसा झिक्थे । उनले मासिक ३० हजार रुपैयाँ पेन्सल पाउँथिन् ।

शुभव्रताका ९० वर्षीय बाबु पनि उनीसँगै बसिरहेका छन् र छोराको यो सबै हर्कत उनलाई थाहा छ । तर, उनको खराब स्वास्थ्यका कारण प्रहरीले पक्राउ भने गरेन ।

प्रतिक्रिया दिनुहोस