यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरजलाई

पोखरा, भदौ १३ गते । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

सन्ध्याका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलिप दोषी र पूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु. १ लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद रु. १५ हजार, ५ सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।

‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन गरिसकेका डा. भट्टराईका करिब १ दर्जन गीत र गजल रेकर्ड भएका छन् । यसअघि मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव’ नामक गीत–गजलको एल्बम पनि बजारमा आएको छ ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् ।

सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।
सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्ष भने कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण मोती जयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको र स्थिति समान्य भएपछि प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस