अन्तर्राष्ट्रिय सीमामा भेटियो दुर्लभ टुकेन चरा, मूल्य २४ लाख रुपैयाँ

एजेन्सी । भारत र बंगलादेशको सिमानामा पिंजडामा राखिएको अवस्थामा दुर्लभ टुकेन चरा भेटिएको छ । उक्त दुर्लभ चरा मध्य अमेरिकी देश बेलिजको राष्ट्रिय चरा पनि हो । जसको लागत २४ लाख रूपैयाँ पर्छ ।

खासमा भारत र बंगलादेशको सिमानामा गुप्तचर सूचनाको आधारमा जब बिएसएफका जवानहरू पुगे, त्यहाँ उपस्थित संदिग्धहरू एउटा पिंजडा फालेर भागे । सोही पिंजडामा एक जोडी दुर्लभ टुकेन चरा भेटिएको हो ।

बिहिबार गुप्तचर सूचनाको आधारमा बिएसएफका जवानले अन्तर्राष्ट्रिय सिमाना नजिकको हल्दार पारा गाउँ पछाडिको जंगल वरपरका क्षेत्रमा विशेष खोजी अभियान गरेका थिए । सोही क्रममा पश्चिम बंगालको परगना जिल्लामा संदिग्धहरुले पिंजडा फालेर भागेका थिए ।

पिंजडा भित्र अनौंठो देखिने चराहरुको जोडी टुकेन बर्ड्स भेटिएको हो । यो प्रजाति दक्षिणी मेक्सिकोदेखि कोलम्बियासम्मको जंगलमा पाइन्छ । अन्तर्राष्ट्रिय बजारमा यी चराहरूको मूल्य २४ लाख रूपैयाँ सम्म पर्छ ।
भेटिएका जोडी टुकेन बर्ड्सलाई कोलकाताको अलीपुरस्थित प्राणी उद्यानलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस