यसै आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्छौँं : प्रधानमन्त्री

काठमाडाैँ, २९ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घाेषणा गर्ने नीतिमा सरकार अगाडि बढिरहेकाे बताउनुभएकाे छ । राष्ट्रिय बाल दिवसको अवसरमा स्वदेश बधाई तथा शुभकामना सन्देश दिँदै उहाँले बालबालिकाकाे हक-हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।

‘यस वर्ष हामीले ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै छौं,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ ।’

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको स्मरण गराउँदै उहाँले साेहीअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताउनुभयाे । चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको र अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम थालनी गरेकाे उहाँकाे भनाइ छ । ‘सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ,’ उहाँले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस