समाचार प्रभाव : क्षयरोगी आमा र कुपोषणग्रस्त बालकले उपचार पाए

कल्याणपुर नगरपालिका– १२ बेल्हा मुसहरीकी २२ वर्षीया सबिता सदा र उनको दुई वर्षीय छोराले घरमै उपचार पाउने भएका छन् । सामाजिक सञ्जालमा ‘सिराहा युनाइट्स’ नामक समूहमा आबद्ध युवाहरूले क्षयरोगपीडित सबिता र कुपोषणग्रस्त दुई वर्षीय बालक प्रशान्तलाई उपचारका लागि जनकपुरधाम पठाएका हुन् ।

उपचार अभावमा घरैमा थलिएको विषयमा नयाँ पत्रिकामा समाचार प्रकाशन भएको थियो । पोषण पुनर्स्थापना गृह जनकपुरधाममा छोरालाई उपचार गर्ने र आमाको उपचार नजिकैको क्षयरोगी अस्पतालमा हुने गरी समन्वय गरेको समूहका सदस्य एवं अधिकारकर्मी जितेश कर्णले बताए । अधिकारकर्मी कर्णले भने, ‘बच्चा र आमा अस्पताल भर्ना भइसकेका छन् ।’

पौष्टिक खानेकुरा अभावमा सबिताले छोरा र आफ्नो उपचारमा समस्या भएको बताएकी थिइन् । क्षयरोगका कारण थलिएकी उनी राम्ररी बोल्न र हिँडडुल गर्न सक्ने अवस्थामा नहुँदा आमा सुमित्राले हेरचार गर्दै आएकी थिइन् ।

सबिताका पति इनर सदा मेला, उत्सवहरूमा ‘नटुवा’को भूमिकामा काम गर्दै आएका थिए । लकडाउन र निषेधाज्ञाका कारण मेला, उत्सव बन्द भएपछि उनी बेरोजगार बनेका छन् । रोजगारी खोसिएपछि सिंगो परिवारमा खाद्यान्न संकट आइपरेको हो ।

इनरले छोरालाई दूध र पौष्टिक आहार दिन नसकेकाले कुपोषणबाट ग्रस्त भएको बताए । सदा परिवार ऐलानी जग्गामा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस