संसारको सबैभन्दा पीरो खुर्सानी खाएका व्यक्ति ‘बज्रपातसरह’ झन्डै ज्यान गएन अहिले हस्पिटलमा भर्ना

पीरो खुर्सानी खाए के होला? पोल्छ, पीडा हुन्छ, धेरै भए मुखमा बलिरहेको कोइला हालेजस्तो महसुस हुन्छ, त्यसभन्दा बढी भए तपाईं रुनुहुन्छ, उल्टी गर्नुहुन्छ र सोच्नुहुन्छ, मैले जीन्दगीमा के बिराएको थिएँ?

तर खुर्सानी खाँदा अस्पतालको आकस्मिक कक्षमा भर्ना हुने गरी नै टाउको दुख्ने अपेक्षा तपाईं गर्नुहुन्न। तै पनि न्युयोर्कका एक ३४ वर्षीय व्यक्तिले यस्तै घटना बेहोर्नुपरेको छ।

उनी संसारको सबैभन्दा पीरो खुर्सानी खाएपछि ब्यासेट मेडिकल सेन्टरको आकस्मिक कक्षमा भर्ना भएका छन्। गिनिज रेकर्डमा पनि ‘क्यारोलिना रिपर’ नामक यो खुर्सानी संसारको सबैभन्दा पीरो खुर्सानीको रुपमा उल्लेखित छ।

उनलाई ‘थन्डरक्ल्याप हेडेक’ अर्थात् बज्रपात भएसरहको टाउको दुःखाइ भएको चिकित्सकहरुले बताएका छन्।

ती व्यक्तिले खुर्सानी खाने एक प्रतिस्पर्धामा यो खुर्सानी खाएपछि यस्तो संकटमा परेका हुन्। तुरुन्तै उनलाई सुख्खा वाकवाकी हुनथाल्यो। त्यसपछि उनको घाँटी जल्न थाल्यो अनि टाउको दुख्न सुरु भयो।

तत्कालका लागि यो समस्या टर्‍यो तर केही दिनपछि फेरि उनको टाउको चर्कोगरी दुख्न थाल्यो। त्यसपछि उनी अस्पताल भर्ना भए।

यसबारे अध्ययन गरेका चिकित्सकहरुले एक रिपोर्ट बिएमजेमा प्रकाशित गरेका छन्।

क्यारोलिना रिपरलाई सन् २०१३ मा संसारको सबैभन्दा पीरो खुर्सानी नाम दिइएको थियो। यो एउटा खुर्सानीले औसतमा १५ लाख ६९ हजार स्कोभिल हिट युनिट दिन्छ भने अन्य खुर्सानीले २५०० देखि ८ हजार स्कोभिल हिट युनिट दिने गर्दछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस