आफैँप्रति इमानदार हुने मानिस संसारमा सबैभन्दा बढी खुशी हुन्छ, थाहा पाउनुहोस् खुशी बन्ने अन्य तरिकाहरु

आफ्नो नयाँ पुस्तक ‘किन्टसुगी वेलनेस’ विमोचन गरेपछि क्यान्डिस कुमाई चर्चामा छिन् । पोलिस बाबु र जापानी आमाकी सन्तान क्यान्डिस पेसाले सेफ हुन् । यसअघि उनले कुकिङसम्बन्धी पुस्तकहरू लेख्ने गरेकी थिइन् । तर, यो पुस्तक भिन्न छ । यस पुस्तकमा उनले कसरी खुसी हुन सकिन्छ भन्ने विषय समेटेकी छिन् । यस पुस्तक विमोचन भएसँगै उनले ‘गोल्डेन गर्ल अफ वेलनेस’ उपमा पाएकी छिन् । आफ्नो करिअरमा आएका उतारचढाव र पारिवारिक समस्याको उदाहरण दिँदै उनले प्राचीन जापानी अभ्यास किन्टसुगीले कसरी खुसी हुन सिकाउँछ भन्ने उल्लेख गरेकी छिन् । किन्टसुगी यस्तो अभ्यास हो, जसले फुटेको माटोको भाँडोलाई सुनको लेपले जोड्न सिकाउँछ । प्रस्तुत छ क्यान्डिसले पुस्तकमा दिएका थुप्रै टिप्समध्येका ७ टिप्स :

१ कसैको जीवन पूर्ण छैन

आजकल सामाजिक सञ्जालमा मानिसहरूले अत्यधिक खुसी भएको र रमाइलो गरिरहेका तस्बिरहरू पोस्ट गर्छन् । तर याद राख्नुस्, कसैको जीवन पनि इन्स्टाग्राम वा फेसबुक फिडमा देखिएजस्तो पूर्ण छैन ।

तपाईंंका जस्तै दुखदायी अनुभवहरू उनीहरूसँग छन् । पारिवारिक विछोड, करिअरमा ब्याक हुनुपर्ने अवस्था, डिप्रेसनलगायतका समस्या उनीहरूले पनि भोगेका हुन सक्छ ।

त्यसैले सामाजिक सञ्जालमा हेरेर अरूको ईष्र्या गर्ने र आफूलाई कमजोर सोच्नेभन्दा उनीहरूका राम्रो कामको प्रशंसा गर्ने गर्नुस् । कम्तीमा पनि उनीहरूको जीवन सामाजिक सञ्जालमा देखिएजस्तो खुसी नै खुसीले भरिएको छैन ।

२ आफ्नो अवस्थालाई सुन्दर देख्नुहोस्

तपाईंंका कठिन चुनौती, गहिरा घाउ र डरहरू नै सुन्दर, महत्वपूर्ण र प्रशंसा गर्नलायक पाटाहरू हुन् । जापानी दर्शन ‘वाबी–साबी’ले तपाईंंका कमजोरीहरू स्विकार्दै अपूर्णतामा रमाउन सिकाउँछ ।

पश्चिमा संस्कृतिमा हुर्केका मानिसहरूलाई सन्तुलन, सफलता र पूर्णतामा मात्रै रमाउने बानी परेको हुन्छ । यस्तो प्रभाव अहिले विश्वभर बढेको छ । तर, अपूर्ण हुँदाहुँदै पनि खुसी हुने संस्कृति जापानमा छ ।

मानिसहरू निर्जीव फूलको आकृतिको पनि त्यति नै प्रशंसा गर्छन्, जति उनीहरूले बास्नादार फूलको गर्छन् । यसरी ‘वाबी–साबी’ दर्शनले हाम्रो दृष्टिकोणमा परिवर्तन ल्याउँछ र हामीले कुरूप देखेको वस्तुहरूको पनि प्रशंसा गर्न सिकाउँछ । हामी सस्तो चियाको कप र कागजबाट बनेको फूलको पनि प्रशंसा गर्न सक्छौँ । यसले प्रशंसा गर्न सिकाउँछ ।

३ नयाँ दृष्टिकोणको खोजी

जब तपाईंंले कुनै ठूलो गल्ती गर्नुभएको छ भने त्यतिवेला तपाईंंका लागि सबैभन्दा ठूलो शिक्षक को हुन सक्छ ? पक्कै पनि प्रकृति तपाईंंको साथमा छ । बाहिर निस्किएर हिँड्न सक्नुहुन्छ वा कुद्न पनि सक्नुहुन्छ । आफूवरपरको अवस्थालाई नियाल्नुहोस् ।

त्यहाँ के–कति गल्तीहरू छन्, कति कमजोरीहरू छन्, कति अपूर्णताहरू छन्, रुखका पातहरू परिवर्तन भइरहेको हेर्नुहोस् । चट्टानमा झार उम्रिरहेको हेर्नुहोस् । तपाईंंको आँखाले के हेर्छ भन्ने महत्वपूर्ण हो । यसरी नै दृष्टिकोण परिवर्तन गर्दै जानुहोस् ।

४ तुलना गर्न छाड्नुहोस्

सामाजिक सञ्जालको प्रभाव फैलिएको अहिलेको समयमा कोही कसैसँग तपाईंले आफूलाई तुलना गर्न सहज छ । तर याद गर्नुस्, यसरी अरूसँग तुलना गर्न तपाईंले आफूलाई स्विकारिरहनुभएको हुनेछैन ।

त्यसैले आफ्नो अस्तित्व स्विकार्नुहोस् र शान्त रहनुहोस् । टिभी, एफएम वा इन्टरनेटजस्ता विद्युतीय उपकरणहरू सुन्नु वा हेर्नुपूर्व प्रत्येक बिहान ध्यान गर्ने गरेको आफ्नै दृष्टान्त पुस्तकमा समेटिएको छ ।

५ माफी दिनुहोस्

मानिसले गल्ती गर्छन्, जसरी तपाईंले गर्नुहुन्छ । ‘वाबी–साबी’ अभ्यासको महत्वपूर्ण पाटो के हो भने तपाईंले यस यथार्थलाई सहजै स्विकार्नुहुन्छ र माफी दिनुहुन्छ । क्यान्डिसले लेखेकी छिन्, ‘यो सधैँ सहज हुँदैन । तर, पेटमा भार र हृदयमा पीडा लिएर बाँच्नुभन्दा उनीहरूलाई माफी दिनु नै राम्रो हुन्छ ।’

६ आफैँप्रति इमानदार हुनुहोस्

आफैँले आफैँलाई माया गर्नुको अर्थ पुस्तक पढ्नका लागि वा मसाज गर्नका लागि समय निकाल्नु भन्ने मात्रै होइन वा तपाईंको स्वास्थ्यप्रति सजग हुने मात्रै पनि होइन । आफ्ना राम्रा कामबाट प्रफुल्लित हुन सिक्नुहोस् । तपाईंले यस्तै जीवन बाँच्नुपर्छ भन्ने कुनै दर्शन छैन ।

तपाईं जस्तो हुनुहुन्छ, त्यो आफैँमा विशेष छ । यो तपाईंको आमाले भन्ने कुरा मात्रै होइन । त्यसैले आफूले आफैँलाई त्यस्तै इमानदारीका साथ व्यवहार गर्नुस्, जसरी आफ्नो मिल्ने साथीलाई गर्नुहुन्छ । कमजोरी सुध्रँदै जानेछन् । आफैँसँग इमानदारीका साथ प्रस्तुत भएको खण्डमा राम्रो गर्दागर्दै पनि कहाँ चुके भन्ने तपाईंलाई प्रस्ट हुन्छ । नयाँ पत्रिकाले छापेको छ ।

७ सहयोगी मानिसको समीपमा बस्नुहोस्

साहित्यिक रूपमा होस् वा सांकेतिक रूपमा, समुदाय जस्तो हुन्छ हामी पनि त्यस्तै नै हुन्छौँ । अरूसँग घुलमिल हुँदा तपाईं आफूप्रतिको मायालाई पनि बढाइरहेको हुनुहुनेछ । सामाजिक हुनु भन्नाले तपाईंले आफ्नो फोनमा ग्रुप टेक्स्ट गरेभन्दा बढी हो । तपाईंको जीवनका अनेक चरणमा आएका मानिसहरूको समीपमा रहनुस् । चाहे फोनमार्फत होस्, वार्षिक बिदामा होस् वा नयाँ साथीसँग अन्तक्र्रिया गरेर होस् । आफ्नो जीवनमा अरूसँग जोडिने प्रयास गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस