२ हजार वर्ष पुरानो चिहानको रगत पिउन ३१ हजार मानिसको तँछाड मछाड

एजेन्सी । इजिप्टमा हालै एक घटना भएको छ । करिब तीन हप्ता पहिले इजिप्टको एलेक्जेन्ड्रिया शहरमा भेटिएको दुई हजार वर्ष पुरानो चिहानको रगत पिउन हजारौँको माग र समर्थन भइरहेको छ । एलेक्जेन्ड्रिया शहरमा पुरातत्वविद्को टिमले जमिनमा उत्खनन गर्दा करिब १६ फिट गहिराइसम्म खनेपछि एउटा ढुंगाको चिहान भेटियो । २७ हजार किलो तौलको यो ताबुत खोल्ने कोसिस सुरु भयो । विनाशको चेतावनी दिँदै कयौँले गरेको आग्रहलाई बेवास्ता गर्दै ताबुत खोलियो । श्रापित भनिएको ताबुत खोलेपछि मानिसहरु चिच्याउन थाले, कारण थियो । ताबुतभित्र तीन नरकंकाल थिए ।

इजिप्टमा भेटिएका यी तीन नरकंकालसँग न कुनै गहना भेटियो न कुनै बहुमूल्य सामान । यहाँसम्म कि यिनीहरुको मास्क पनि सुन वा चाँदीका थिएनन् । यो कुनै गरिब परिवारको भएको अनुमान गरिएको तीनवटै कंकाललाई एजेक्जेन्ड्रिया नेशनल म्युजियममा पठाइएको छ । ताबुत सेनाको जिम्मा लगाइएको छ । यति भएपछि घटना शान्त हुने अपेक्षा गरिएपनि यसले विशाल रुप लिएको छ ।

एक व्यक्तिले ताबुतमा भेटिएको रगत पिउन माग गरेपछि यसले बृहत रुप लिएको हो । उनले अनलाइनमा एक याचना पत्र दायर गरेका छन् जसलाई ३१ हजार भन्दा धेरैले समर्थन दिइसकेका छन् । उनीहरुको तर्क छ कि उनीहरु मिश्रका मानिसको यो रगत पिएर उनीहरुको जस्तै शक्ति हासिल गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस