कम्प्युटर वा मोबाइल धेरै चलाउनुहुन्छ ? आँखा सुक्खा हुन नदिन यी घरेलु उपाय अपनाउनुहोस

तपाई धेरै समय कम्युटर वा अन्य कुनै चम्किलो प्रकाश भएको यन्त्र अगाडि बसेर एकोहोरो काम गर्नुहुन्छ ? हो भने तपाईको आँखा सुक्खा हुने जोखिम धेरै हुन्छ । यसैले तपाई आँखा सुक्खा हुन नदिन ‘बीस–बीस–बीस’ सूत्र अपनाउनुहोस् ।

धेरै बेर बसेर काम गर्नुपर्दा आँखाले कम्प्युटरको स्क्रिन वा चम्किलो यन्त्र अगाडि हेर्नुपर्ने हुन्छ । धेरै लामो समय हेर्दा आँखाको परेला पनि धेरैबेर खोल्नुपर्ने हुन्छ । यसैले आँखाको आफ्नो नियमित गतिमा अवरोध हुन्छ र आँखा रसाउन पाउँदैन । जसले गर्दा आँखा सुक्खा हुँदै जान्छ ।

विराटनगर गोल्छा आँखा अस्पतालका आँखा विशेषज्ञ डा ज्योति लामिछानेका अनुसार आँखामा आँशुको मात्रा कम भएर लाग्ने यो रोगलाई ‘कम्प्युटर सिन्ड्रोम’ भनिन्छ । समयमै ध्यान दिएन भने यो रोग बढ्दै जान्छ र अन्त्यमा मानिस दृष्टिविहीन हुने जोखिम धेरै हुन्छ । सबैभन्दा राम्रो उपाय भनेको आँखा सुक्खा भएको महसुस भयो भने नेत्र चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।

तर पनि यो रोग लाग्न नदिन आफैँले पनि केही सावधानी अपनाउन सकिन्छ । जस्तो सबैभन्दा पहिले आफैँले आफ्नो कम्प्युटर आफ्नो आँखाले तल हेर्नेगरी सेट गर्नुपर्छ । कम्प्युटरको मनिटर आँखाको दृष्टिविन्दुभन्दा उचाइमा भए आँखाको परेला बढी उघारेर हेर्नुपर्ने भएकाले आँखाको पर्दामा आँसु झर्ने क्रम घट्न सक्छ । धेरैबेर आँखा तन्काएर एकोहोरो हेर्दा आँखाको परेला झिम्कने क्रम कम हुन्छ र आँखामा आँसु रसाउने काम पनि घट्दै जान्छ ।

जति आँखाको रेटिना (पर्दा) मा आँसु फैलने क्रम कम हुन्छ उति नै आँखा सुक्खा हुन पुग्छ । आँखा सुक्खा भएमा आँखा चिलाउने र टाढा हेर्दा टटाउने हुन्छ ।

‘कम्प्युटर सिन्ड्रोम’ रोग लाग्न नदिन हरेक २० मिनेट कम्प्युटरमा काम गरिसकेपछि २० मिटर टाढा हेरेर २० पटक आँखा झिम्क्याउनु पर्दछ । यसो गर्दा आँखाको परेलाले व्यायाम गर्ने अवसर पाउँछ । आँखाको परेला झिम्किएन भने आँखामा आँसु उत्पादन हुने क्रम घट्छ । यसैले यति कुरा विचार गरियो भने आँखालाई तत्काल सुक्खा हुनबाट जोगाउन सकिन्छ ।

आँखा विशेषज्ञहरुका अनुसार आँखाले घामको प्रकाशमा सोझै हेर्दा, कृत्रिम यन्त्रको अधिक प्रयोग, वायु प्रदूषण, धूमपान, मद्यपान, लामो समयको अव्यवस्थित अध्ययन, आँखामा कमसल लेन्सको प्रयोग र औषधिको जथाभावी प्रयोग आदि विभिन्न कारणहरुले गर्दा आँखा सुक्खा हुने गर्दछ ।

आजकल प्रविधिको प्रयोग बढ्दो छ । प्रायः कार्यालयमा काम गर्दा हामी धेरैले आधुनिक यन्त्रहरुको प्रयोग गर्छौं जसमा धेरैले प्रयोग गर्ने यन्त्र कम्प्युटर नै हो । यसैले तत्कालीन जोखिमबाट जोगिन ‘बीस–बीस–बीस’ सूत्र उपयोगी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस