भुटानमा प्रधानमन्त्रीदेखि अधिकांशको भाषा नेपाली, नेपालमा जन्मिएका भुटानी राजा

काठमाडौ । राष्ट्रिय भाषा जोङ्खा भए पनि भुटानमा अधिकांश मानिसले नेपाली भाषा बोल्ने गरेको पाइन्छ । भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङपनि नेपाली भाषा मज्जाले बोल्छन् । नेपाली मा नै अन्र्तवार्ता दिन्छन् । भाषणा गर्छन् । त्यहाँ नेपाली भाषा नबुझ्ने कोही नरहेको सर्वसाधारणले बताएका छन्।

भुटानमा नेपाली भाषा सम्पर्क भाषाको रुपमा विकसित हुँदै गएको उनीहरुले बताए। छिमेकी देशका सीमावर्ती स्थानका मानिसहरुसँग व्यापार–व्यवसाय गर्नुपर्दा पनि नेपाली भाषा नै प्रयोग हुने गरेको उनीहरुले बताए। भुटानमा नेपाली भाषा पठनपाठन हुन छोडेको ३४ वर्ष भएपनि नेपाली भाषा भुटानका लागि महत्त्वपूर्ण भाषा भएको भुटान सरकारका एकजना मन्त्रीले बताएका छन्।

केही समयअघि कोरोना भाइरस (कोभिड–१९) मा जनताको संरक्षणका लागि त्यहाँका अर्थमन्त्री सार्वजनिक गरेको योजना नेपाली भाषामा नै थियो । त्यो अहिलेपनि नेपालमा भाइरल छ ।

सहज
भुटानको राजधानी थिम्पुका ट्याक्सी चालक साङगे दावाले विद्यालयमा कहिले पनि नेपाली भाषा पढेनन्। उनको मातृभाषा अर्कै हो। तर उनी नेपाली भाषा बोल्न सहज मान्छन् । दावा भन्छन्, भुटानमा नेपाली बोल्न जान्यो भने कुनै समस्या हुँदैन। यहाँ झन्डै ७० देखि ८० प्रतिशत मानिसहरुले नेपाली बोल्छन् ।

थिम्पु
भुटानमा नेपाली भाषाको पठनपाठन नभएको तीन दशकभन्दा बढी भइसक्यो। तर अधिकांशले नेपाली भाषा बोल्ने गरेको भुटानी सर्वसाधारण बताउँछन्। नेपालीभाषीलगायत अन्य मातृभाषा भएकाहरुले पनि नेपाली भाषा बोल्ने गरेको उनीहरुले बताए।

भुटानका एकजना पूर्व सांसद दुर्गाप्रसाद क्षेत्रीले भने, यहाँ जुनसुकै गल्लीमा वा पसलमा जानुहोस् नेपाली बोल्दा हुन्छ। तर नेपालको बोल्ने शैली र यहाँको बोल्ने शैली अलि फरक छ ।

सम्पर्क
छिमेकी देशका सीमावर्ती स्थानहरूमा नेपालीभाषी लगायत अन्य समुदायका मानिसहरूले नेपाली भाषा नै बोल्ने भएकाले सम्पर्कका लागि नेपाली बोल्न अनिवार्य जस्तै भएको भुटानी सर्वसाधारणको बुझाइ छ। किनकी भुटानसँग सीमा जोडिएका भारतका अधिकांश स्थानमापनि नेपाली भाषा नै बोलिन्छ । पहिला नेपालीभाषीहरुको बसोवास दक्षिण भुटानमा केन्द्रित थियो।

तर अहिले जागिर तथा व्यवसायका लागि राजधानी थिम्पु, पारो लगायतका स्थानमा उनीहरुको बसोवास बढ्दै गएको बताइएको छ। उनीहरूबाट अन्य समुदायका मानिसहरूले पनि नेपाली भाषा सिक्न थालेको भुटानी सर्वसाधारण बताउँछन्।

तथ्याङ्क
कति प्रतिशत सर्वसाधारणले नेपाली भाषा बोल्छन् भन्ने कुराको तथ्याङ्क नभएको सरकारी अधिकारीहरु बताउँछन्। तर नेपाली भाषा भुटानमा एउटा महत्त्वपूर्ण भाषा भएको भुटानका सूचना तथा सञ्चार मन्त्री डीएन ढुंगेलले बताए। यतिमात्र हैन त्यहाँ अधिकांश नामको थर नेपालीसँग मिल्छ ।

उनले भने, यहाँ नेपाली भाषा कतिले बोल्छन् भन्ने तथ्याङ्क नभए पनि यो सम्पर्कका लागि महत्वपूर्ण भाषा हो । तर नेपाली भाषाको पठनपाठन किन रोकियो भन्ने प्रश्नको उत्तर कसैसँग पाइँदैन।

भुटानका राजा जिग्मे केशर नामगेल वाङचुक पाटन अस्पतालमा जन्मिएको खुलासा

भुटानका राजा जिग्मे केशर नामगेल वाङचुक पाटन अस्पतालमा जन्मिएको खुलासा भएको छ । नेपालसँग आफ्नै निकै भावनात्मक सम्बन्ध भएको भन्ने गरेका भुटानी राजाको जन्म ललितपुरस्थित पाटन अस्पतालमा भएको खुलासा एकजना गैर आवाशीय भुटानी विद्धानले गरेका हुन् ।

डा. डिएनएस ढकालले लेखमार्फत् भुटानी राजाको नेपालसँग भावनात्मक सम्बन्ध हुनुको कारण खुलाउँदै पाटन अस्पतालमा उनको जन्म भएको उल्लेख गरेका छन् । उनको लेख २९ अक्टोबरमा गैर आवासीय भुटानीको अनलाइन पत्रिकारमा छापिएको छ ।

३९ वर्ष अघि पाटन अस्पताल प्रारम्भिक अवस्थामा थियो । त्यही भुटानका भावी राजाको जन्म भएको थियो । उनी भुटानको शाही परिवारका हुन् भन्ने कुनै सूचना दिइएको थिएन । यसबारे नेपालको राजपरिवार मात्र जानकार थियो ।

नेपालको राजपरिवारसँग भुटानको राजपरिवारको अति निकट सम्बन्ध् थियो । भुटानी भावी राजाको रक्षक मानिएको देवतालाई हरेक दिन स्वयम्भुनाथमा पूजा गरिन्थ्यो ।

पाटन अस्पतालमा जन्मिएका बालककी आमा छिरिङ योङडोन अविवाहित थिइन् । भुटानी सेनाका वरिष्ठ अधिकारी याब युगेन डोर्जीकी छोरी थिइन् छिरिङ ।छिरिङले जन्म दिएकी बालकको नाम पछिमात्र जिग्मे केशर नामग्याल वाङचुक राखियो । शुरुमा उनको नाम जिग्मे गेसर थियो । बालक नामग्याल आठ वर्षको भएपछि मात्र भुटानी राजा जिग्मे सिङ्गे वाङचुकसँग विवाह भएको थियो । सन् १९८८ मा छिरिङसँगको विवाहलगत्तै राजा वाङचुकले नामग्याललाई भुटानको राजगद्दीको उत्तराधिकारी घोषित गरे ।

आठ वर्षको उमेरमा युवराज घोषित भएका नामग्याल भुटानको भावी राजाका लागि तयार गरिएका थिए । उनलाई विदेशमा विशेष शिक्षादिक्षा दिइएको थियो । १४ डिसेम्बर सन् २००६ मा नामग्याल राजा घोषित भए । उनको राज्याभिषेक ६ नोभेम्बर सन् २००८ मा भयो ।

भुटानको राजा भएपछि पनि नामग्याल काठमाडौंमा जन्मिएको रहस्यकै गर्भमा थियो । उनले यसको खुलासा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा गरे । उनी नेपाल भ्रमणमा आउँदा आफू जन्मिएपछि बाल्यकालमा केही समय बिताएको घरमा समेत पुगेका थिए ।

राजा नामग्याल राजा नभएसम्म काठमाडौंमा जन्मिएको खुलासा नगर्नुमा एउटा कारण थियो । भुटानको नागरिक हुन भुटानमै जन्मिएको हुनुपर्ने कानुनी व्यवस्था छ ।

जे होस्, भुटानी राजा जिग्मे केशर नामग्यालको काठमाडौंसँग भावनात्मक सम्बन्ध छ । उनले बेला बेलामा नेपाली अधिकारीहरुसँगको भेटमा यसलाई व्यक्त गर्छन् । डा. डिएनएस ढकालले पनि यसबारे उल्लेख गरेका छन् ।

नेपाली राम्रो बोल्न सक्ने भुटानी राजा नामग्यालले भुटानका लागि नेपालका राजदूतसँग आफू काठमाडौंमा जन्मिएकाले नेपालसँग भावनात्मक साइनो रहेको खुलाए । राजदूतका रुपमा ओहदाको प्रमाणपत्र लिने क्रममा भुटानी राजाले यसको जानकारी दिनुभएको तत्कालिन राजदुत निलाम्बर आचार्यले खुलाएका थिए ।

‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ। भावनात्मक सम्बन्ध छ। किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै तत्कालिन राजदूत आचार्यले भने। राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए।

राजा जिग्मेको सन् १९८० मा नेपालमा जन्म भएको थियो। उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो। साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो। जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ। त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए। दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो।

प्रतिक्रिया दिनुहोस