काठमाडौं। राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ। बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो।
स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ। ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो।’
बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन्।
पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए। शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए। अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन्।