मनोज गजुरेल आईसीयूमा हुँदा पूर्वपत्नी मीना ढकालको प्रेमरुपी पत्र, …उत्तीकै माया गर्छु

काठमाडौं, २१ कात्तिक । हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण सिकिस्त रहेका बेला पूर्व पत्नी मीना ढकाले पत्र लेखेकी छन् । जुरेलको अवस्था गम्भीर भएपछि आज बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल आइसीयूमा राखेर उपचार भइरहेको बेला उनलाई पूर्व पत्नी मीनाले फेशबूक मार्फत मायाँरुपी शब्दहरु खर्चिदै पत्र लेखेकी हुन् ।

लोकप्रीय हास्य कलाकारका रुपमा स्थापीत गजुरेललाई उनका धेरै सुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । गजुरेलको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी नआएपनि शुक्रबार बिहानकाे जानकारी अनुसार उनको आइसीयूमै उपचार भइरहेको छ । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था बुधबारबाट गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले बताएको छ ।

यसैबीच उनको पूर्बपत्नी मीना ढकालले लेखेको स्टाटस यस प्रकार छ –

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसीयु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन् म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन ।

छोराछोरी तिम्रो प्रति़क्षामा छन… तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ ।

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी ११

प्रतिक्रिया दिनुहोस