एक छोरालाई जन्म दिएको २६ दिनपछि फेरी जुम्ल्याहा बच्चाहरू जन्मेपछि डाक्टर नै चकित, विश्वभर बन्यो भाइरल

एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बीबीसीलाई बताएका छन्।

बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन्। त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो।
त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए।
त्यसरी जन्मेका जुम्ल्याहा बच्चाहरू स्वस्थ रहेका र तिनीहरूलाई अस्पतालबाट घर पठाइसकिएको छ। बांग्लादेशको ग्रामिण क्षेत्रकी आरिफा सुल्तानाले उनको पहिलो बच्चा खुल्ना जिल्लास्थित खुल्ना मेडिकल कलेज अस्पतालमा जन्माएकी थिइन्

त्यसको २६ दिनपछि नै उनलाई पेट दुखेपछि जेसोर जिल्लास्थित अद्दीन अस्पतालमा लगिएको थियो। “जब बिरामीलाई ल्याइयो हामीले उनको अल्ट्रासाउण्ड परीक्षण गर्‍यौँ र उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पायौँ,” उनको उपचार गरेकी स्त्रीरोग विशेषज्ञ डा. शीला पोद्दारले बीबीसीलाई बताइन्

उनले भनिन्, “यो घटनाबाट हामी एकदमै स्तब्ध र आश्चर्यचकित भएका छौँ। मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ।” आरिफा सुल्ताना र उनका पति एकदमै गरिब भएकाले उनी गर्भवती भएका बेलामा पनि पहिले अल्ट्रासाउण्ड परीक्षण गरिएको थिएन
सुत्केरी आमा र जुम्ल्याहा बच्चाहरूलाई चार दिनको अस्पताल बसाइपछि मार्च २५ तारिखमा घर पठाइएको थियो। सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञका अनुसार महिलामा “दुईवटा पाठेघर हुने अवस्था मानिसहरूले सोचेजस्तो दुर्लभ भने होइन।
“यदि पहिले नै गर्भवती अवस्थामा अल्ट्रासाउण्ड परीक्षण गरिएको भए दुईवटा पाठेघर स्पष्ट देखिने थियो,” गाइनेएमडी संस्थाका डा. क्रिस्टोफर ङले बताएका छन्।

प्रतिक्रिया दिनुहोस