छोरी जन्माएको १ घण्टामै आमाको मृत्यु, परिवारसँग शिशुका लागि दूध किन्ने पैसा समेत छैन

मार्तडी । बाजुराको बुढीनन्दा नगरपालिका–४ की २३ वर्षीय अम्बकला रोकायाले पहिलो सन्तानका रुपमा छोरी पाइन् । तर, प्रसुती हुँदा भएको अत्यधिक रक्तश्रावका कारण छोरी जन्माएको १ घण्टामै अम्बकलाको मृत्यु भयो ।

असोज २२ गतेको राति जन्मिएकी अबोध शिशु जीवित त छिन्, तर कमजोर आर्थिक अवस्थाका कारण परिवारका सदस्यले उनका लागि दूधको जोहो समेत गर्न सकेका छैनन् ।
स्थानीय धनसिंह रोकायाका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएका कारण नवजात शिशुका लागि दूधको व्यवस्था गर्न समस्या छ ।

अम्बकलाका श्रीमान दल बोहोरा अहिले गाउँलेसँग गाई र भैंसीको दूध मागेर खुवाइरहेको बताउँछन् । तर, कहिले गाईको र कहिले भैंसीको दूध खुवाइने गरिएका कारण नवजात शिशुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

‘गाउँलेसँग कहिले गाई त कहिले भैंसीको दूध मागेर खुवाइरहेका छौं । अहिलेसम्म जेनतेन बाँचेकी छ,’ अम्बकलाका श्रीमान् दल भन्छन्, ‘न भैंसी किन्नलाई पैसा छ, न त ल्याक्टोजिन दूध किन्नलाई नै ।’

बच्चा जन्मेदेखी ६ महिना आमकै दूध खुवाउनु राम्रो मानिन्छ । आमाको मृत्यु भइसकेका कारण आफन्तहरुले गाई र भैंसीका दूध खुवाउन थालेका छन् । तर, गाई र भैंसीको दूधमा हुने चिल्लो (फ्याट), प्रोटिन र क्याल्सियमको मात्रा नमिल्दा बच्चाले प्राप्त गर्नुपर्ने पोषणको सन्तुलन बिग्रिने गरेको चिकित्सकहरु बताउँछन् ।

नवजात शिशुलाई आवश्यक पर्ने पोषणको मात्रा मिलाइएको हुनाले केही हदसम्म शिशुलाई ल्याक्टोजिन दूध खुवाउन मिल्ने चिकित्सकहरु बताउँछन् । तर, अम्बकलाका परिवारको कमजोर आर्थिक अवस्थाका कारण ल्याक्टोजिन किनेर खुवाउन नसकिएको बुढीनन्दा नगरपालिका–४ का वडाध्यक्ष राजन रोकायाले बताए ।

‘एक पाकेट ल्याक्टोजिन दूधको ८ सय रुपैयाँ भन्दा बढी पर्दो रहेछ, एउटा पाकेट २/३ दिनका लागि सम्मका लागि मात्रै हुँदो रहेछ,’ वडाध्यक्ष रोकायाले भने, ‘अम्बकलाका परिवारको आर्थिक अवस्था निकै कमजोर छ । ल्याक्टोजिन किनेर खुवाउन सकिने अवस्था पनि छैन ।’

अम्कलालाई असोज २२ गते सुत्केरी व्यथाले च्यापेपछि स्थानीय कुरु आधारभुत स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर, त्यहाँ कार्यरत अनमी र अहेब नहुँदा ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लग्दै गर्दा बाटोमा नै उनको मृत्यु भयो । अत्यधिक रक्तश्रावका कारण छोरीलाई जन्म दिएको १ घण्टामा नै अम्बकलाको मृत्यु भएको थियो ।
तस्वीर– बडिमालिका खबर

प्रतिक्रिया दिनुहोस