१८ मानिसको ज्यान लिने कोशी टप्पुको जंगली हात्ती ‘मकुना’लाई तत्काल नमारिने

३० मंसिर । कोशी टप्पुको रैथाने जंगली हात्ती मकुना नमारिने भएको छ । आरक्ष क्षेत्रमा जिउधनको क्षति पु¥याउदै आएको मकुना मार्ने मनस्थिति नजिक पुगेको प्रशासन प्राविधिकको राय पर्खने निर्णयमा पुगेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा बसेको बैठक मकुना बौलाएको हो वा हैन् भन्ने विषय यकिन गर्ने सहमतिमा टुङिगएको छ । प्रमुख जिल्ला अधिकारी, प्रमुख संरक्षण अधिकृत, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाका साथै सुरक्षा निकायका प्रमुखका साथै गाउँपालिका अध्यक्ष र पीडित पक्षबीच भएको छलफलले तत्काललाई हात्तीलाई नेल लगाएर राख्ने सहमति जुटाएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार जंगली हात्ती बौलाएको हो वा हैन भन्ने विषय यकिन नभई मारिने निर्णय गर्न नमिल्ने बताउनु भयो । उहाँले कानूनले तोकेको परिधिभित्र रहि अघि बढिने बताउनुभयो ।

पोखरेलले चितवनबाट प्राविधिकको टोली हिंडिसकेकाले उनीहरुले आएर पहिला खुट्टामा नेल लगाउने काम गर्ने र केहि दिनको अवस्था जाँच गरी हात्ती बौलाएको हो हैन् निर्क्यौल गरिने बताउनुभयो ।

उता आरक्षको कार्यालयले प्रजिअको निर्णय अन्तिम हुने भएकाले सोही अनुरुपको प्रकृया अघि बढाउन आफुहरु तयार रहेको जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले छलफलबाट क्षतिपूर्ति लगायतको विषयमा समेत सहमति जुटाएको बताउनुभयो ।

छलफलमा सहमति जुटेपछि हिजोबाट धरानमा राखिएको मृतकको शव पोष्टमाटम गरी अन्त्येष्टि समेत हुने भएको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले दीर्घकालीन समस्या समाधान गर्ने गरी छलफल अगाडि बढेको बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा ९क०मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख छ ।

तर कोशी टप्पुको मकुना बौलाएको पुष्टि गर्ने आधिकारिक आधार भने अहिले सम्म फेला परेको छैन् । हालसम्म मकुनाले कोशी टप्पु आसपासका १८ जना मानिसको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस