जुवामा श्रीमती हारे, साथीहरुलाई बलात्कार गर्न दिए, पछि श्रीमती ‘शुद्ध पार्न’ एसिड खन्याए

काठमाडौं। साथीहरुसँग जुवा खेल्ने क्रममा श्रीमती नै दाउमा राखेका एक व्यक्तिले जुवामा श्रमिती हारे । त्यसपछि उनले आफ्नी श्रीमतीलाई सामूहिक बलात्कार गर्न साथहिरुलाई सुम्पिए । जब श्रीमतीले त्यो अत्याचारको विरोध गरिन्, ती व्यक्तिले श्रमितीमाथि नै एसिड खन्याइदिए । अधिकारीहरुलाई उद्धृत गर्दै न्यूज १८ ले लेखेअनुसार ती व्यक्तिले श्रीमतीलाई ‘शुद्ध पार्न’ एसिड खन्याएको बताएका छन् । समाचारअनुसार घटना भारतको बिहार राज्यको भागलपुर जिल्लाको हो ।

मोजाहिदपुर पुलिस स्टेशनका प्रमुख राजेश कुमार झाका अनुसार अभियुक्त सोनु हरिजनलाई पक्राउ गरेर आइतबार बेलुका मुद्दा दर्ता गरिएको छ । ‘घटनाको गम्भीरतालाई ध्यानमा राख्दै हामीले तत्कालै एफआइआर दर्ता गरेर अभियुक्तलाई हिरासतमा लिएका छौं । थप अनुसन्धान भइरहेको छ र यो घटनामा संलग्न अरु अभियुक्तलाई पनि पक्राउ गरिनेछ’ उनले भने । पुलिसलाई दिएको बयानमा ती अभियुक्तले आफूले एक महिनाअघि श्रीमती हारेको बताएका छन् । उनका अनुसार उनकी श्रीमती एक महिनाको लागि जित्नेहरुसँग जानुपर्ने थियो तर उनले मानिनन् ।

पुलिसले पीडितको बयानको अध्ययन गरिरहेको बताएको छ । अभियुक्तका परिवारले एसिडले जलेका घाउसहितकी पीडितलाई घटना लुकाउने उद्देश्यले घरमै थुनेर राखेका थिए । आइतबार ती महिला थुनिएको ठाउँबाट भाग्न सफल भएकी थिइन् । पीडित भागेर लोदीपुरमा माइती गएर घटनाबारे सबै बताएपछि मात्रै घटनाको खुलासा भएको थियो । पिताले पीडितलाई तत्कालै लोदीपुर पुलिस स्टेशन लिएर गएका थिए जहाँबाट उनलाई मोजाहिदपुर पुलिस स्टेशन पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस