‘पद, पैसा र परिवार मात्र सोच्ने प्रचण्डलाई देश सुम्पिन सकिन्न’:- प्रधानमन्त्री ओली

काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कमिटिको बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासका लागि सरकारले गरेका प्रयासहरूमा आफ्नै दलका केही नेता बाधक बनेको आरोप लगाए।

आफूले पार्टीलाई एकजुट बनाउन निरन्तर प्रयास जारी राखे पनि कार्यकारी प्रचण्ड तथा उनले नेतृत्व गरेको वरिष्ठ नेता माधवकुमार नेपालसहितको असन्तुष्ट समूहका नेताहरूले नमानेको प्रधानमन्त्री ओलीको गुनासो थियो।

“मैले अस्तिको दिन प्रचण्डजीलाई भनेँ, हामीले मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ की ? निर्वाचनमा हामी एकजुट भएर जानुपर्‍यो भनेर भनेँ,” प्रधानमन्त्री ओलीले गुनासो पोख्दै भने, “तर उहाँहरू मान्नुभएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन।”

झण्डै दुई तिहाई नजिकको बहुमतका साथ संसदमा प्रतिनिधित्व गर्ने दलभित्रको आन्तरिक विवादका कारण आइतबार मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिलाई गरेको थियो। राष्ट्रपतिव्राट मन्त्रिपरिषद्को सिफारिस सदर भएर वैशाखमा मध्यावधी चुनाव हुने पक्का भएपछि नेकपाको असन्तुष्ट पक्ष विरोधमा छ। यसैबीच आज प्रथम अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय कमिटिको बैठक बोलाएका थिए। त्यसको काउन्टर स्वरुप असन्तुष्ट पक्षले पनि असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।

औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ।

पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमा:

हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दैछौं । अहिलेसम्म विधिवत् पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? मैले अस्तिको दिन प्रचण्डजीलाई भने- हामीले केही मिलाउन सकेनौं, अब निर्वाचनले मिलाउँछ कि ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो । आपसी अन्तरविरोधहरु टुङ्ग्याउनुपर्‍यो । अब एकजुट भएर हामी निर्वाचनको काममा अगाडि बढौं । प्रधानमन्त्री बन्नु नै छ भने पनि चुनावबाट बन्ने होला नि त ? प्रधानमन्त्री म चुनावबाट बनेको हुँ । यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ । अरू पार्टीहरु पनि सकेसम्म एकजुट हुँदैछन् । चुनावका लागि, चुनावको सामना गर्नका लागि ।

प्रतिक्रिया दिनुहोस