चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि स्थानीय चकित, भगवानको रुप भन्दै पूजा गर्न थाले

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् ।

मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो ।

“मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिमा प्रतीक देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्” उहाँले भन्नुभयो ।

केसीका अनुसार सबैभन्दा बढी शिवलिङ्ग र सालग्राम भए पनि अन्यको सङ्ख्यासमेत बढ्दै जान थालेको छ । क्षेत्र विकास कोषले संरक्षणका लागि रङ लगाउनुका साथै आसपासका क्षेत्रमा खोजीकार्य समेत सुरु गरेको छ । मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ समेत गएर पूजा गर्न थालेका छन् । मन्दिरका पुजारीका अनुसार आकार दिनप्रति दिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।

विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल समेत भइरहेको छ । गलेश्वर क्षेत्रको विकासका लागि राज्य, स्थानीयका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस