माफी माग्दै सुधीर चौधरीले भने- ‘सगरमाथा नेपालकै हो, यसलाई कसैले खोस्न सक्दैन’ म लेखेर दिन्छु

काठमाडौं, १ माघ । सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले अन्ततः माफी मागेका छन् ।

चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको र आफ्नो प्रस्तुतीबाट भ्रम फैलिएको भन्दै माफि मागेका हुन् । प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन नेपाल आएका चौधरी आइतबार बिना अनुमति हेलिकोप्टरबाट सगरमाथाको आधार शीवीर काला पत्थ्थर पुगेर सगरमाथाको नाम परिवर्तन गर्नु पर्ने र जीन्युजले त्यो अभियान सुरु गरेको बताएका थिए ।

चौधरीको उक्त अभिव्यक्तिपछि नेपालमा चर्को विरोध भएको थियो । त्यसपछि बुधबार साँझ आफ्नो नियमित कार्यक्रममा चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए ।

माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न नसक्ने र नेपालमै भएकाे उनले बताए । ‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बीचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, चौधरीले भने, ‘चुनाव हुन्छ र सरकार आउँछन् जान्छन्, तर भारत र नेपालबीचको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’

‘हामीले एउटा अभियान सुरु गरेका छौं, जसले माउन्ट एभरेस्टलाई अँग्रेजबाट मुक्त गराउने छ’, चौधरीले भने, ‘हामीले सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई श्रेय फर्काउन खोजेका हौं, जसमा नेपालको अवरोध छैन। भारतले माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ भन्ने हाम्रो अभियान हो।’

चौधरी भन्छन्, ‘माउन्ट एभरेस्टबाट नाम परिवर्तन भएर माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन। यसबाट त्यो गल्ती सुधार्न मात्रै खोजिएको हो, जुन गल्ती बेलायतले आफ्नो शासनकालमा जाने बुझेर अंग्रेजी नाम राखेर गरे,’ उनले भने, ‘भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ । यदि नेपालीले यो कुरालाई स्वीकार गर्छन् भने यसमा उनको महानता झल्कनेछ । माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन ।’

प्रतिक्रिया दिनुहोस