कतारको लेबर क्याम्पमा मध्यरातमा फिलिपिनिको भूतले झाप्पड हानेपछि

करिब ४० बर्ष अघि बलिउडमा निर्मित शोले फिल्मको डाइलग जल्दी सो जा नहीं तो गब्बर सिं आ जाएगा भनेर अमजद खानकै मानव प्राकृत स्वरुप र भीमकाय डरावना डायलग सम्झिएर तर्सिने दक्षिण एसियाली मुलका भारतीय र नेपाली मानसिकतामा अल्लाह र भगवान प्रति जति आस्था र विश्वाश छ, त्यतिकै कमजोर मानसिकता भएका अर्थात् हल्का छायाँ भएका हामी केहि नेपालीहरुमा भूतप्रेत हुन्छ भन्ने कुरामा त्यत्तिकै अदृश्य शक्ति माथि विश्वाश पनि छ ।

यहि क्याम्प हो जहा म लगायत करिब एक सय ८० जना नेपाली हरु रहन्छन र हरेक रात सन्त्रासमय निन्द्रामा रात काट्ने गर्छन उसो त विश्वका सुप्रसिद्ध चलचित्र निर्माण नगरी हलिउड बलिउडले पनि भुतप्रेत र भट्किएको मृत आत्माको बारेमा दजनौं चलचित्र बनाएर दर्शकहरुबाट अरबौं डलर असुलेर अदृश्य , अज्ञात भूतको कथा बेची करोडपति भएका छन् । यदि यस्ता अदृश्य शक्ति सबै झुटा हुन् भने मानव मनोबल कमजोर बनाउने यस्ता चलचित्र, थ्रिलर उपन्यास निर्माण तथा प्रकाशनमा प्रतिबन्ध लगाईनुपर्छ ।

यस्ता उडन्ते कुराले मानसिकतामा नराम्रो असर पुर्याउँदछ । जसको मानसिक तथा मनोबिज्ञान कुप्रभावले कैयौंले आजीवन आवाज गुमाएको, पागल भएको र तर्सिएर सातो गएर तत्काल मृत्युवरण गर्न पुगेको सत्य घटनाहरु पनि छापामा आउने गरेका छन् । भूतप्रेत सम्बन्धी किंबदन्ती नेपालमा मात्र नभै हरेक देशमा भन्ने, सुनाउने, सुन्ने गरिन्छ र त्यहि भने, सुनेका कुराहरु प्रागकाल देखि अहिले सम्म पनि पुस्तान्तरण हुँदै गाउँघर मेलापात तथा गोठालो, बनजंगल चाहार्न जाँदा भन्दै गरिदै आईरहेको छ ।

अर्थात् भूतप्रेतको बारेमा वाचित कथा किंबदन्तीको रुपमा एउटाको मुखबाट अर्कोको मुखमा र अर्कोको मुखबाट अझ अर्कोको मुख र जनजिब्रोमा स्थानान्तरण हुँदै आईरहेको छ । यस्ता भूतप्रेतका कथा गाउँघरतिर साँझ पख खोल्मा, पिंढी तथा धन्सारमा बसेर मकै नंग्याउने अवस्थामा, समूहमा रहेर गरिने अन्य कामको अवसरमा भन्ने आमप्रचलन थियो । यस्तै भूतप्रेतको राग उराल्ने क्रममा अझ कसैकसैले त मेरो हजुरबाले त भूत संग लाप्पा खेलेर भूतलाई पछारेको, हिलोमा गाडिदिएको, वा बाउ बाजेको यस्तै पुरुषार्थ जडित कथा उरालेर बाउ बाजेले भूतलाई हराएर देखाएको बहादुरीताको दन्त्य कथा सुुनएर अलमलमा पार्ने प्रचलन औधि नै हुन्थ्यो ।

म स्वयं पनि वल्ला घर पल्ला घरमा गएर साँझ हुँदो मेरै समकालिन र आफु भन्दा साना साना भाईबहिनीहरुलाई भूतको काल्पनिक कथा सुनाइसकेर उनीहरुको मानसिकतामा डर र भ्रम भरिसकेपछि उनीहरुमा सिर्जित आतंकित चेहेरा हेर्दै आफुले कथा माध्यमबाट उनीहरुको मानसिकतामा प्रभाव जमाउन सकेकोमा ठूलो जितको महसुस गर्थें र त्यस पछि घर जाने क्रममा आफुले सुनाएको भूतको कथाबाट आफैं तर्सिएर खुट्टाको चप्पल हातमा घुसारेर पछाडि नफर्कीकन सास प्रश्वाश नै बन्द गरेर एकै पटक घर पुगेपछि मात्र लामो श्वाश तानेर भूतबाट बचेर घर आउन सफल भएकोमा आफैं दंग पर्थें भने घर आउन सफल भैसकेपछि छ्या बेक्कारमा डराएर भागेछु ।

नदौडिकन विस्तारी घर आएको भएपनि मलाई भूतले के पो विगार्न सक्थ्यो र भनेर अलिकति मक्किएको साहस जागेर आउने गरेको त्यस्ता आफ्नै अनुभव पनि थुप्रै छन् । अब प्रकारान्तारमा नै जाउँ । म कार्यरत कम्पनीको क्याम्प दोहा सहर देखि करिब ४० किलोमिटर पश्चिमोत्तर ठाउँ अबु नख्ला भन्ने स्थानमा रहेको छ । कम्पनीमा कार्यरत नेपाली, सुडानी, भारतीय मूलका सबै कर्मचारी कामदारहरुलाई यस क्याम्पमा सारिनु अघि अरु नै कम्पनीका कामदारहरु यसमा बस्दै आएका थिए र अन्यहरुको भनाई अनुसार यस्तै अदृश्य आतंकको कारण उनीहरुले क्याम्प नै छोडेर अन्यत्र गएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस