बेञ्जिमाले दुई गोल गरेपछि रियल मड्रिडको आल्भ्समाथि जित

काठमाडौं, माघ ११ गते । रियल मड्रिडले स्पेनिस ला लिगामा आल्भ्समाथि ४–१ को जित हात पारेको छ । कोपा डेल रेमा तेस्रो डिभिजनका अल्कोयानासँग हारेपछि स्पेनिस कपबाट बाहिरिने अवस्थामा पुगेको रियलले आल्भ्समाथि जितसँगै उक्त सम्भावना टारेको हो ।
रियल मड्रिडले खेल सुरु भएको १५ औं मिनेटमा सेसिमिरोको गोलमा आल्भ्समाथि १–० को अग्रता लियो । बेञ्जिमाले ४१ औं मिनेटमा गोल अन्तरलाई दोब्बर पार्नुभयो । उहाँले इडेन हर्जाडको पासलाई गोलको दिशा दिनुभयो ।

पहिलो हाफको इन्ज्युरी समयमा हर्जाडले टोनी क्रूजको सहयोगमा गोल गर्दै रियल मड्रिडको आल्भ्समाथि ३–० को अग्रता दिलाउनुभयो । ५९ औं मिनेटमा जोसेलुले आल्भ्सका लागि गोल फर्काए पनि उक्त गोल शान्त्वना मात्रै रहन गयो । बेञ्जिमाले ७० औं मिनेटमा लुका मोड्रिकको सहयोगमा हेडरमार्फत गोल गर्दै रियल मड्रिडको ४–१ को जित सुनिश्चित गर्नुभयो ।

जितसँगै रियल मड्रिड शीर्षस्थानको एटलेटिको मड्रिडसँग अङ्कतालिकामा मात्र चार अङ्कको दूरी बनाउन सफल भयो । रियलले १९ खेलबाट ४० अङ्क बटुल्दा एटलेटिको मड्रिडले १७ खेलबाट ४४ अङ्क बटुलेको हो ।
प्रशिक्षक जिनेदिन जिदान कोरोनाबाट सङ्क्रमित भएर आइसोलेशनमा बस्दा रियलले आल्भ्सविरुद्धको खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस