प्रदेश नं २ खोप अभियानः ३४ हजारलाई लगाइँदै

कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश नं २ मा पनि शुरु भएको छ । प्रदेशका आठ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाउनुभएको छ । मन्त्री यादव कोरोना पोजेटिभसमेत हुनुभएको थियो ।

खोप लगाएपछि मन्त्री यादवले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह गर्नुभयो । “खोपको साइड इफेक्ट छैन । भए पनि अत्यन्त न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीको सल्लाह अनुसार सबैजनाले खोप लगाउनुहोस्, कोरोना सङ्क्रमण अन्त्य नभएको र यसको अर्को विकल्प पनि नभएकाले खोप नै विश्वसनीय उपाय हो ।”

प्रदेश नं २ कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको स्मरण गर्दै मन्त्री यादवले त्यस बेला यो प्रदेशका मानिसलाई हेरेर अन्य प्रदेशका मानिस तर्सिरहेको र संवेदनहीन वक्तव्य पनि दिने गरेको बताउनुभयो । आफ्नो ज्यान जोखिममा राखेर कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सक्रिय रुपमा लाग्नुहुने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत सबैलाई उहाँले धन्यवाद दिनुभयो । एउटा योद्धाले युद्ध मैदानमा काम गरेजस्तै काम गर्दा कोरोना भाइरस सङ्क्रमणलाई रोक्न सफल भएको उहाँको भनाइ छ । हामीजस्तो विकासशील देशमा एक वर्षभित्रै खोप आउनु ठूलो उपलब्धी रहेको भन्दै उहाँले दुःखको बेला सहयोग गर्ने छिमेकी मुलुक भारतलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिनुभयो ।

कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि धनुषाको जनकपुरधाम, पर्साको वीरगञ्ज र सप्तरीको राजविराजबाट एकैसाथ शुरु भएको हो । जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान शुरु भएको हो । वीरगञ्जमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहले सो अभियानको शुभारम्भ गर्नुभएको थियो ।

मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
पहिलो चरणमा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहित २२५ जनालाई खोप दिइने छ । त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप दिइने अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिनुभयो ।

पहिलो चरणका लागि प्रदेश नं २ मा ३४ हजार ८०४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजारभन्दा बढीको नाम सङ्कलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताउनुभयो । पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । तीमध्ये सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र एक हजार २०४ सरसफाईकर्मीको नाम दर्ता गरिएको निमित्त निर्देशक झाले बताउनुभयो ।

पहिलो चरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस