विप्लव हेलिकोप्टर चढ्न मानेनन् ! गाडीमा काठमाडौं आउँदै

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि होलिकोप्टर छाडेर गाडीमै आउने भएका छन्।विद्रोही नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आउँदै गरेको स्रोतको दावी छ ।

उनी काठमाडौं बाहिर भएकाले शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर स्टान्डबाई राखेको थियो । हेलिकोप्टरमा चढ्दा जनमानसमा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको विप्लव निकट स्रोत बताउँछ ।

उनी आज राति अबेरसम्म काठमाडौं आइपुग्ने बताइएको छ । विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिअनुसार शुक्रबार प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् । गृहमन्त्रीले ‘विप्लव’ लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रस्ताव राखेपछि उनले पार्टीमा सल्लाह गरेर नचढ्ने निष्कर्षमा पुगेको बताइएको छ।

विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनिकट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

तत्कालिन माओवादी शान्ति वार्तामा आउँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलगायतका नेताहरु २०६३ साल असार २ गते हेलिकप्टरबाटै कास्कीको सिकलेसबाट काठमाडौं आएका थिए। गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग प्रचण्ड र बाबुरामसहितका नेताहरु हेलिकप्टरबाटै बालुवाटारमा सार्वजनिक भएका थिए। एउटै ‘ड्रेस कोड’ र ‘हेयर स्टाईल’मा प्रचण्ड र बाबुरामसहितका नेताहरु सार्वजनिक भएका थिए।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच बिहीबार बिहान तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस