संसदीय बोर्ड तथा विधान संशोधन समिति गठन, नेपाल पक्षका सांसद पनि सहभागी

काठमाडौं, चैत ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड समिति र तीन सदस्यीय संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गुटगत भेलामा सहभागी नहुन पुनः आव्हान गर्नुभएको छ । पार्टीको विधान विपरीत गुटगत भेला र गतिविधिमा सहभागी हुनेलाई विधानअनुसार कारवाही हुने चेतावनी उहाँले दिनुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

सांसद बस्नेतका अनुसार संसदीय दलको बोर्डमा केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ लगायतका सांसदहरु हुनुहुन्छ । पार्टीका सांसदहरुले विधान विपरीत र पार्टीको नीति नियम विपरीत आचरण व्यवहार गरेमा बोर्डले कारवाही गर्ने निर्णय गर्न सक्नेछ ।
आजको बैठकले बोर्डमा २४ जनाको नाम टुङ्गो लगाएको छ । बाँकी तीन जनाको नाम पछि मनोनीत गर्ने निर्णय भएको सांसद बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
त्यसैगरी प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । समितिमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य हुनुहुन्छ । समितिले संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार गरी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने सांसद बस्नेतले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस