छिट्टै राजा ज्ञानेन्द्र पुन: स्थापित भएर नेपालीको नेतृत्व गर्नुहुनेछ: स्वामी कैलशानन्द

हरिद्वार। श्रीपंचायती अखाड़ा निरंजनी पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरिले महाराजधिराज ज्ञानेन्द्र शाहको सरलता नै उहाँको शक्ति भएको बताउनु भएको छ। स्वामी कैलशानन्दको निमन्त्रणामा भारतको हरिद्वारमा जारी कुम्भ मेलामा सहभागी हुन पुग्नु भएका शाह छिट्टै नेपालको राजाको रुपमा पुनस्थापित हुने बताउनु भएको हो।

विशेष कुराकानी गर्दै स्वामी कैलशानन्दले भन्नु भयो, ‘जुन राज्यको राजा धार्मिक छ, आध्यात्मिक छ, साधुहरुको सेवा गर्छ। त्यो ठाउँमा परम्परा शिथिल हुन सक्छ तर लुप्त हुन् सक्दैन।

त्यसैले राजा ज्ञानेन्द्र नारायण रुपमा, विष्णु रुपमा पुन: स्थापित भएर नेपाल र नेपालीलाई रक्षा गर्नु हुनेछ, संरक्षण गर्नु हुन्छ र नेतृत्व गर्नु हुनेछ। राजा ज्ञानेन्द्रलाई जारी कुम्भ मेलमा भारत वर्षका ठूला भन्दा ठूला पुज्य सन्तका आशिर्वाद प्राप्त हुनेछ जसले त्यो यात्रा सहज हुनेछ।’

स्वामी कैलशानन्दले छिट्टै नेपालमा राजा सहितको हिन्दू राष्ट्र पुन:स्थापना हुने पनि दाबी गर्नु भयो। नेपालमा राजसंस्था सहित हिन्दू राष्ट्र पुन:स्थापित होस् भन्ने भागवत इच्छा भएकोले गंगा माताले आँफू मार्फत महाराजधिराजलाई आफ्नो तटमा आशिर्वाद दिन बोलाएको बताउनु भयो।

‘भारतका हरेक साधु, हरेक सनातनी नेपालमा स्वतन्त्र राज होस् भन्ने चाहन्छन्। राजा सहितको हिन्दू राष्ट्र पुनस्थापना होस्। राजा सारा विश्वका हिन्दूहरुको नेतृत्व गरुन् भन्ने चाहन्छन्।

स्वयम् गंगा मैया पनि त्यही चाहनुहुन्छ, त्यसैले मेरो मार्फत राजालाई साधुसन्तको आशिर्वाद लिन कुम्भ मेलामा बोलाउनु भयो,’ स्वामी कैलशानन्दले भन्नु भयो।

स्वामी कैलशानन्दले राजा ज्ञानेन्द्रको सरलता देखेर विश्व भरका हिन्दूहरु गौरवान्वित हुनुपर्ने पनि बताउनु भयो।

स्वामी कैलशानन्दले भन्नु भयो, ‘भगवान कृष्णले गीतामा आँफू राजाको रुपमा यो पृथ्वीमा रहने बताउनु भएको छ। राजा ज्ञानेन्द्र यति सरल हुनुहुन्छ उहाँले विशेष प्रोटोकल अस्वीकार गर्नु भयो। आफ्नो राजाको सरलता देखेर विश्वका सम्पूर्ण हिन्दू गौरवान्वित हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस