विवाह गर्न सिडिओको आदेश चाहिने, होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म: अरु यस्ता छन् कडा नियम

काठमाडौ । कोरोनाको जोखिम बढेसंगै फेरी सरकारले कडा नियम लागू गर्ने भएको छ । कोरोनाको दोस्रो चरणको महामारीको जोखिम भएकाले भिडभाड हुने क्षेत्रलाई थप कडाइ गर्न लागिएको हो । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

त्यस्तै सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ । कोरोनाको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी फैलने जोखिम भएपछि सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।

यातायात ब्यवसायीले सिटमा भन्दा बढी यात्रु समेत राख्न पाउने छैनन् । कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालकरसहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ । यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन ।

सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस