बधाई छ ! ट्याक्सी चालककी छोरी अस्मिताले पाइन स्वीजरल्यान्डमा दुई करोड बराबरको छात्रवृत्ति

काठमाडौं । मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् । संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् ।

जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो । सानैदेखि तीक्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड नेपालको समता स्कुल आएका थिए ।

नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए । अस्मिताको पारिवारिक अवस्था न्युन हो । उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् ।

अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ ।

छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।” ३.९ जीपीए ल्याएकी उनी १० कक्षामा हुँदा रिचर्ड म्याकडोनाल्डले मौखिक र लिखित परीक्षा लिएका थिए । करिब पाँचसय जनामा लिइएको परीक्षामा धेरैले भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिक भनिन् ।

म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौखिक र लिखित कागज लगेका थिए । त्यसमध्ये अस्मिता छानिएकी हुन् । उनी सो कलेजमा जीसीएसइ पढ्ने भएकी छन् । अस्मितालाई स्वीजरल्याण्ड पढ्न जाने कुरा पहिला नै थाहा थियो ।

प्रतिक्रिया दिनुहोस