चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

नानजिङ – पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताउनुभयो ।

“सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाई छ ।

प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो ।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।

प्रतिक्रिया दिनुहोस