हाम्रा ९ लापरवाही जसले गर्दा बच्चाको ज्यानै लिन सक्छ, पढ्नै पर्ने कुरा

हाम्रो सानोतिनो लापरवाहीले कहिले काहीँ घातक नतिजा दिन्छ । खासगरी बालबच्चा भएको घरमा बिशेष सावधानी अपनाउनु पर्छ । कतिपय यस्ता गल्ती हुन्छ, जो सामान्य लाग्छ । तर, त्यसले बच्चाको ज्यान समेत लिन सक्छ ।

घरमा भएको बेला होस्, वा बाहिर हामीले घरका सानोतिनो कुरामा पनि ख्याल राख्नुपर्छ । जस्तो कि ग्यासको रेगुलेटर बन्द छ/छैन, चक्कु एवं हतियार सुरक्षित छ/छैन, बिद्युतिय यन्त्र कस्तो अवस्थामा छ ? हेर्नुपर्छ । घरसँगै ठूलो खाल्डा, खुल्डी वा इनार हुनसक्छ । आफु नभएको बेला बच्चा त्यसमा फस्न सक्छन् । यावत् कुराहरु छन्, जो बच्चाको निम्ति असुरक्षित हुन्छ ।

१. बाथरुम खुला राख्नु : घरमा यस्तो व्यवस्था गरौं कि बच्चा बाथरुममा एक्लै नपसोस् । कहिले काहीँ बच्चा बाथरुम गएको हामीलाई थाहा हुन्न । उनीहरु पानी खेल्छन्, फोहोर खेल्छन् । त्यो भन्दा गम्भिर अवस्था त त्यसबेला आउँछ, जब बच्चा भित्र पसेर ढोकाको लक लगाइदिन्छ । कति बच्चाहरु बाथरुममा पसेर ढोका लक गर्छन्, तर खोल्न सक्दैन । यसले गर्दा बच्चाहरुले भित्र के गर्छन् भन्ने हामीले थाहा पनि पाउन सक्दैनौँ । यसैले कहिलै पनि घरको बाथरुमको ढोका खुला राख्नु हुदैन ।

२. बाल्टी वा टबमा पानी भरेर राख्ने : अक्सर बाल्टी वा टबमा पानी भरेर राख्ने गरिन्छ । पानीको जोहो गर्नका लागि पनि यसरी पानी राख्नैपर्ने वाध्यता हुन्छ । तर, पानी सञ्चित गर्नका लागि ढक्कन भएको बाल्टी प्रयोग गर्नु पर्छ । हामीले धेरै घटनाहरु सुनेका छौ यो बारेमा । तर पनि यस्तो भइरहने गर्दछ । मानिसले आफुलाई नपरी चेत्दैन तर यो चेताइ असाध्यै महंगो पर्न सक्छ । यसैले यो सानो कुरा पनि याद गर्नु पर्छ ।

३. सिक्का, खानेकुराको टुक्राटुक्री छाड्ने : सिक्का, नरिवलको टुक्रा, छुर्पी, गेडागुडी बच्चाले भेट्ने वा खेलाउने गरी जथाभावी नराखौं । यस्तो कडा चिज उनीहरुले मुखमा हालेर खेलाउँछन् र घाँटीमा गएर फस्छ । कति बच्चाले नाकको प्वालमा पनि यस्ता गेडागुडी हाल्न सक्छन् । यो खानेकुरामा पनि हुन सक्छ । यी भइराख्ने कुराहरु हुन्छन् तर कुनै बेलामा यसले ज्यान पनि लिन सक्छ । यसैले तपाईका घरमा बालबच्चा छन् भने यस्तो अवस्थामा के गर्नु पर्दछ भन्ने कुरा पनि जानी राखे राम्रो हुनेछ ।

४. पेट्रोल वा अन्य इन्धन जथाभावी राख्ने : कुनैपनि पेट्रोलियम पदार्थ बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ । कति बच्चाले यस्ता खानेकुरा पिउँछन् । कहिले काँही आगो लाग्ने संभावना पनि हुन्छ । त्यस्तै एसिड जन्य कुराहरु पनि बच्चाको पहुँच भन्दा बाहिर राख्नु पर्दछ । औषधीहरुमा त यो विशेष किसिमले नै लेखिएको हुन्छ कि बच्चाको पहुँच भन्दा बाहिर यी कुराहरु राख्नु भनेर । हामीले कहिलेकाँही लापरवाही गरेर जतासुकै राख्दा यसले नराम्रो घटना घटाउन सक्छ ।

५. खुला छत वा वार्दली : कति घरको छत वा बार्दली खुला हुन्छ, जहाँबाट बच्चा लड्ने संभावना बढी हुन्छ । त्यस्तो छत वा बार्दली छ भने बच्चालाई एक्लै जान सक्ने बनाइदिनु हुन्न । ढोका लगाउने व्यवस्था गर्नुपर्छ । छत वा बार्दलीमा बच्चालाई एक्लै छाड्न वा खेल्न जान दिन हुन्न । आफु वरिपरी भए पनि बच्चाहरुलाई खुल्ला छत वा बार्दली भएको ठाउँमा खेल्न दिनु बुद्धिमानी हुदैन । त्यस्तै रड नभएका खुला सिसामात्रै भएको झ्यालको कोठामा पनि बालबच्चालाई राख्नु हुदैन ।

६. तातो दुध, पानी, चिया जथाभावी राख्ने : तातो पानीमा परेर हात, खुट्टा पिल्साएको घटना धेरै सुनिन्छ, देखिन्छ । अस्पतालमा समेत यस्ता बच्चाहरु धेरै भर्ना हुने गरेका छन् । त्यसैले बच्चाको पहुचमा वा खेल्ने स्थानमा तातो पानी, चिया, दुध जस्ता पदार्थ राख्नु हुँदैन । यसले बच्चाको ज्यानै लिन सक्छ भने शरिरमा परेर कुरुप बनाउने सम्भावना पनि हुन्छ । यसैले कहिलै पनि तातो दुध, पानी, चिया जस्ता तातो कुराहरु बच्चाले पुग्ने वा भेट्ने ठाउँमा राख्नु हुदैन ।

७. घरेलु जनवारलाई कुट्ने, पिट्ने : अक्सर घरमा कुकुर पाल्ने गरिन्छ । कतिले बिरालो वा अन्य जनवार, पंक्षी समेत पाल्ने गर्छन् । ति घरपालुवा जनवारसँग बच्चालाई एक्लै खेल्न छाड्ने गल्ती पनि धेरैले गर्छन् । जब जनवारलाई बच्चाले कुट्छ वा कुनै किसिमको असर पुर्‍याउँछ, त्यसले बच्चालाई टेक्न वा चिथोर्न सक्छ ।

८. बिद्युतिय सामग्री लथालिंग छाड्नु : कतिले बिद्युतिय तार जोडेको स्थानलाई खुला छाडिदिन्छन्, बिद्युतिय उपकरण चलाएर त्यतीकै छाडिदिन्छन्, यो बच्चाको निम्ति निकै जोखिपूर्ण हुन्छ । बच्चाहरुको बिद्युतिय उपकरणमा परेर हात, खुट्टा जल्ने, पेलिने, काटिने अवस्था आउन सक्छ । यस्तै केटाकेटीले मुखमा हालेर टोकिरहने आफ्नो बानी कै कारण ति कुराहरु मुखमा हाल्ने सम्भावना हुन्छ । यदि ति उपकरणमा बिजुली रहेछ भने यसले असाध्यै नराम्रो दुर्घटना निम्त्याउन सक्छ ।

९. चक्कु, धारिलो हतियार बच्चाको पहुँचमा छाड्नु : चक्कु, कैंची, सियो, सलाई जस्ता दैनिक प्रयोगमा आउने सामग्रीहरु हामी जथाभावी राख्छौं । यसले पनि बच्चालाई दुर्घटनामा पार्न सक्छ । उनीहरुलाई थाहा हुदैन र खेल्न पुग्छन् । त्यस्तै धारिलो कुरा बच्चाको अगाडी बोकेर बस्दा पनि याद गर्नु पर्ने हुन्छ । उनीहरुले खबरै नगरी तानिदिन वा चलाइदिन सक्छन् जसले गर्दा बोक्नेलाई गम्भिर चोट लाग्ने सम्भावना पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस