संसारकै धनी विल गेट्स र उनकी पत्नीले २७ वर्ष लामो बैवाहिक जिवनको अन्त्य गरे

एजेन्सी । संसारकै चौथो धनी तथा माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्दा गेट्सले आफ्नो २७ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका छन् । उनीहरुले सामाजिक सजाल मार्फत आफुहरुले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको जानकारी गराएका छन् । ‘हामीलाई विश्वास हुन छाड्यो कि एक जोडीका रुपमा अब हामी अगाडी बढ्न सक्छौं,’ उनीहरुको वक्तव्य जारी गर्दै भनेका छन् ।

‘निकै साचबिचार गरी आफ्नो सम्बन्धका लागि धेरै प्रयास गरेपछि हामी आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णयमा पुगेका हौं,’ उनीहरुले ट्वीटरमा लेखेको बक्तब्यमा पनि भनिएको छ । यो जोडीको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो, जतिबेला मेलिन्दाले माइक्रोसफ्टमा जागिर सुरु गरेकी थिइन् ।

उनीहरुका तीन सन्तान छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरुले संयुक्त रुपमा विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन सन्चालन गर्नेछन् ।

फाउण्डेसनले हालै मात्र बालबालिकालाई संक्रामक रोगबाट बचाउन खोप अभियानका लागि अर्बौं डलर सहयोग गरेको थियो । फोब्र्स म्यागाजिनका अनुसार गेट्स विश्वका चौथो धनी व्यक्ति हुन् । उनीसँग १ सय २४ विलियन अमेरिकी डलर सम्पत्ती छ । उनी लामो समयसम्म विश्वकै धनी व्यक्तिका रुपमा थिए ।

सन् १९७० को दशकमा स्थापना भएको माइक्रोसफ्टका सह–संस्थापक गेट्सले त्यसयता कम्पनीलाई विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी बनाए । त्यही माध्यमबाट धेरै पैसा कमाए ।

प्रतिक्रिया दिनुहोस