किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन्?

धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ।

“दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ।

हालसम्म महामारीका बेला जीवन बचाउने कुरामा मात्र ध्यान केन्द्रित रहेको छ तर अब कोभिड-१९ का दीर्घकालीन प्रभावहरूको पहिचान हुन थालेको छ।

त्यति मात्र होइन- किन केही मानिसहरू दीर्घकालीन कोभिडबाट पीडित छन् अथवा के कुनै बेला ती सबै भाइरसमुक्त हुन्छन्? भन्ने आधारभूत प्रश्नहरू अनिश्चितताले घेरिएका छन्।

दीर्घ-कोभिड के हो?

यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन।

दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो।

अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

त्यस्तै मानसिक स्वास्थ्य समस्याहरूमा डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता रहेका छन्।

यसले मानिसको जीवनस्तरलाई पूर्णरूपमा नष्ट गर्नसक्छ।

दीर्घ-कोभिडबाट पीडित जेड ग्रे क्रिस्टी भन्छिन्, “मेरो थकावट यस्तो थियो कि जुन मैले पहिले कहिल्यै पनि अनुभव गरेकी थिइनँ।”

दीर्घ-कोभिडका कारण मानिसहरूले सघन उपचारमा रहेर निको हुन समय मात्र लगाइरहेका छैनन्।

सामान्यखाले लक्षण भएका मानिसहरूले समेत लामो समयसम्म देखिने र कडा खाले स्वास्थ्य समस्याहरूको पनि सामना गरिरहेका छन्।

युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक डेभिड स्ट्रेन भन्छन्, “हामीलाई लामो समयसम्म रहने कोभिड छ भन्नेमा कुनै सन्देह छैन।”

उनले दीर्घ-कोभिडका बिरामीहरूलाई आफ्नो क्रोनिक फटिग सिन्ड्रोम क्लिनिकमा हेरिसकेको बीबीसीलाई बताए।

कति मानिसहरूले यस्तो कोभिडको सामना गरिरहेका छन्?

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एउटा अनुसन्धानपत्र अनुसार अध्येताहरूले रोमको सबैभन्दा ठूलो अस्पतालका १४३ जना कोभिडका बिरामीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।

त्यसमध्ये ८७ प्रतिशतमा कम्तीमा करिब दुई महिनासम्म एकखाले लक्षण पाइएको थियो भने आधाभन्दा बढीले त्यसबेलासम्म थकानको महसुस गरिरहेका थिए।

यद्यपि त्यस्तोखाले अध्ययनहरू अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै मात्र बिरामीहरूलाई समेटेर गरिएका छन्।

आधा घण्टाभित्र कोरोनाभाइरस जाँच्ने विधि ‘१३३ देशलाई’
पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिँदैमा सङ्क्रमण पुष्टि हुन्छ कि हुँदैन
यूकेमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्र्याकर एप’ले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू देखिएको पाएको छ।

हालसम्म प्रकाशित नभएको उसको विवरणले ५० जनामा १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ-कोभिडको लक्षण देखाएको छ।

दिर्घ-कोभिड

के कडाखालको कोभिड भएमा मात्र दीर्घ-कोभिड हुन्छ?

यस्तो हुने देखिँदैन। डब्लिनमा गरिएको एउटा अध्ययन अनुसार आधा मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भएको १० सातासम्म थकान कायम थियो। अनि एक तिहाइ मानिसहरू काममा फर्किन असफल भएका थिए।

चिकित्सकहरूले कडाखाले कोभिड र थकानबीच कुनै सम्बन्ध पाउन सकेनन्।

यद्यपि कडा खाले थकान मात्र दीर्घ-कोभिडको लक्षण हो।

मानिसहरूमा कोभिड कसरी ठीक भइरहेको छ भनेर अध्ययन गर्ने युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी-कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङ्ग के विश्वास गर्छन् भने निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस