संस्मरण : रानी ऐश्वर्य र मेरो कलाकारिता

कथाकार नरु थापाले तैलचित्र बनाउँथे । उनकै कोठामा म बारम्बार पुग्थें । उनले बनाएका थुप्रै चित्र देखेर म दङ्ग पर्थें । यो देखेर मलाई के के हुन्थ्यो, त्यस्तै हुन मन लाग्थ्यो । मैलेपनि यस्तै चित्र लेख्न पाए कस्तो हुँदो हुँ भन्ने उत्सुकता ममा पलाएको थियो । अनि यो कलामा म अनयासैे आकर्षित भएँ । पहिला राम्रा अक्षर लेख्न थालें । अनि ब्रस चलाउन थालें । साईनबोर्ड लेख्न थालें । नपत्याईंदो पाराले म त्यो बेलामा कपडाको तुलमा लेख्ने आर्टिष्ट पनि भै भ्याएँ ।

राजारानीको पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणका समयमा सरकारी कार्यालय र गाउँ पञ्चायतका स्वागतद्वार बन्थे । राजारानीको जयजयकार लेखेका राता तुलहरु स्वागत द्वारमा प्रशस्तै चाहिन्थे । बागलुङमा शाक्य जेठा आर्ट र बिबि आर्ट मात्रै दुईटा आर्टिष्ट थिए । यी दुईलाई सबै भ्याउन मुश्किल पर्थ्यो । भ्याई नभ्याई हुन्थ्यो । आर्टिष्ट अभावको अलिकति फाईदा मलाई भयो ।

मैले लेख्छ भन्ने थाहा पाएकाले जस्तो भएपनि लेखिदेउ भन्दै मसंग आउन थाले । वाह भन्दै म मख्ख पर्थें । यो मेरो पेशा थिएन र कहिल्यै भएन तर, मेरो रुचि र सौंखमा खुब मजा आयो ।

सौंखले लेख्थें । पेशाले लेख्दैनथें । यसै सन्दर्भमा प्लेनसीट पातामा बागलुङ धम्जा स्थित शान्ति प्राविको साईनबोर्ड मैले लेखेको छु । अहिले त्यो उच्च मावि बनेको छ । तत्कालिन शान्ति प्रावि धम्जाका प्रअ मुक्ति पौडेल अहिले यो संसारमा हुनुहुन्न शायद । वहाँलाई खुब संझन्छु मेरो यो पाटो सम्मरण गर्दा । चित्रकलामा उग्रचाहना हुँदाहुँदै ललितकला क्याम्पस काठमाण्डौमा पढ्ने मेरो ईच्छा पूरा हुन सकेन ।

जेहोस मलाई चित्रकलामा खुब रुचि जाग्यो । त्यतिखेर गोरखापत्रमा आउने रेखाचित्र नक्कल गर्दागर्दै देवीदुर्गाको पहिलो चित्र हुबहुँ उतारें । त्यसपछि उनैको कृपाले हो कि के हो ? मनमा झन उत्साह थपियो । अरु छाडेर सबैभन्दाधेरै चित्रकलामा ध्यान गयो । अब भनें रेखाचित्र होईन फोटो हेरेर त्यस्तैे बनाउन थालें । फोटो हेरेर फोटो बनाउन गाह्रो हुन्छ तै मिल्दोजुल्दो हुन थाल्यो ।

देख्नेले आहा कति राम्रो भन्दै प्रशंसा गर्न थाले । जसले गर्दा चित्र कोर्न थप हौशला मिल्थ्यो ।
त्यसपछि जसको फोटो पेन्सिलले उतारेपनि ठ्याक्कै मिल्दजुल्दो हुनथाल्यो । यसपछि राजारानीका फोटो हेर्दै सेतो ड्रईङ्ग पेपरमा उतारें । राजा वीरेन्द्रको घोप्टे जुँगा भएको फोटो अतिनैे राम्रो लाग्थ्यो । कण्ठै थियो, वीरेन्द्रको फोटो जहाँपनि उतार्थें । राजाको फोटो थोरै तलमाथी भएपनि मिलेझैं लाग्थ्यो । नबुझ्ने कोहि हुँदैनथे । ०३८ सालतिर हो त्यतिबेला धेरैका फोटो उतारें ।

उतिबेला विपि गणेशमान र कृष्ण प्रसाद भट्टराईका फोटो पनि उतारें । बागलुङको गल्कोट माविमा रहेको पुस्तकालयमा लगेर राख्ने मित्रलाई यी तीन फोटोको प्रसंगले वहाँलाई अवश्य स्मरण गराउनेछ । त्यस्तै रानी ऐश्वर्यको फोटो पनि राजाको जत्तिकै पटक पटक उतारेको छु । रानी ऐश्वर्यको फोटो बनाउँदा उनका आँखा ओठ र परेली कोर्दाकोर्दै र हेर्दाहेर्दै मलाई कण्ठै भएका थिए । साँच्चिकै गज्जबकै लाग्थ्यो उनको सुन्दर मुहार । हुनत संसारका ह्याण्डसम् राजा नेपालकै थिए, उत्तिकै सुन्दरी रानी ऐश्वर्य थिईन् । आज कात्तिक २२ गते उनै रानी ऐश्वर्यको जन्मजयन्ती हो । यस अबसरमा उनीप्रति यिनै स्मरण सहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । राजा वीरेन्द्र र रानी ऐश्वर्य अमर रहून ।

प्रतिक्रिया दिनुहोस