कोरोनाबाट निको भएकाको ज्यान बचाउन आँखा निकाल्न बाध्य पार्ने ‘ब्ल्याक फंगस’ के हो ?

काठमाडौं। भारतमा कोरोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्योति गुमाउने बिरामीको संख्या सयौं भइसकेको छ । पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा निकालिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको ज्यान बचाउनको लागि डाक्टरहरुसँग आँखा निकाल्ने बाहेक अरु विकल्प बाँकी थिएन ।

यी बिरामीहरुले कोरोनाभाइरसलाई जितिसकेका थिए । तर, कोरोना संक्रमणबाट मुक्त भएका यी बिरामीमा नयाँ संक्रमण देखिएको थियो । यो नयाँ संक्रमणलाई चिकित्सकीय भाषामा म्युकरमाइकोसिस र सामान्य बोलीचालीको भाषामा ब्ल्याक फंगस भनिन्छ । यी बिरामीहरुमा सुगर लेभल अत्यन्तै बढेको थियो । यही कारण उनीहरुलाई फंगल अर्थात ढुसीको संक्रमण भएको थियो । आश्चर्यको कुरा यी २ बिरामीलाई पहिले मधुमेहको कुनै समस्या थिएन ।

भारतीय अखबार दैनिक भास्करका अनुसार इन्दौरमा देखिएका यी दुई केस नयाँ होइनन् । पछिल्लो समय कोरोना संक्रमित र कोरोना जितिसकेकाहरुमा म्युकरमाइकोसिसको संक्रमणका केसहरु ठूलो संख्यामा देखिएका छन् । यो दुर्लभ र प्राणघातक फंगल संक्रमण हो । यसको समयमै उपचार गरिएन भने आँखाको ज्योति जानुका साथै मृत्यु पनि हुन सक्छ । साइनस अर्थात नाकको भित्री तन्तुहरु हुँदै आँखासम्म पुग्ने यो संक्रमणलाई पूरै शरीरमा फैलिनबाट रोक्न डाक्टरहरुले बिरामीको अपरेशन गरेर संक्रमित आँखा वा बंगाराको माथिपट्टिको उक भाग निकाल्नु पर्छ ।

म्युकरमाइकोसिले बिरामीको साइनसका साथै आँखा, मस्तिस्क, फोक्सो वा छालामा पनि आक्रमण गर्न सक्छ । समय छँदै यसलाई नियन्त्रित गरिएन भने यो प्राणघातक हुन्छ । ब्ल्याक फंगसले धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई आक्रमण गर्छ । बलियो प्रतिरोधी क्षमता भएकालाई सामान्यतया ब्ल्याक फंगसको खतरामा रहेको मानिँदैन । कोभिड टास्क फोर्सका अनुसार कोरोना संक्रमित रहेकै क्रममा ब्ल्याक फंगसको संक्रमण भए बिरामीको ज्यान जाने खतरा बढ्छ ।

विशेषज्ञका अनुसार बिरामी जति लामो समयसम्म अस्पतालमा रहन्छ र जति लामो समयसम्म स्टेरोएड औषधि खाइरहन्छ उसलाई ब्ल्याक फंगसको खतरा बढ्दै जान्छ । ब्ल्याक फंगर पहिले नै हावा र माटोमा हुन्छ । ब्ल्याक फंगसका हावामा भएका कण नाकबाट प्रवेश गर्छन् । त्यहाँबाट फोक्सो र त्यसपछि रगतको माध्यमबाट मस्तिस्कमा पुग्छन् । नाकबाटै यसको संक्रमण साइनस हुँदै आँखासम्म पुग्छ । बिरामीको छाती वा टाउकोको एक्स रे वा सिटी स्क्यानबाट यसको संक्रमण पत्ता लगाउन सकिन्छ ।

यो संक्रमण अहिले भर्खरै आएको नयाँ संक्रमण भने होइन । यो माइक्रोमाइसिट्स नामको ढुसीका कारण हुन्छ र यो शरीरमा तीब्र रुपमा फैलिने संक्रमणको रुपमा चिनिन्छ । यसअघि यसलाई जाइगोमाइकोसिस नामबाट चिनिन्थ्यो । अहिले कोभिड संक्रमण भएका वा निको भइसकेका बिरामीमा यो संक्रमण धेरै देखिन थालेको छ । यसको उपचार चाँडै नै गरिए एन्टिफंगल औषधिबाट पनि निको हुन सक्छ र ढिलो भएमा संक्रमित अंग निकाल्नको लागि शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ ।

यो संक्रमणको उपचार एन्टिफंगल औषधिबाट हुन्छ र ढिलो भए शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । डाक्टरका अनुसार यो संक्रमणबाट बच्नको लागि मधुमेह नियन्त्रण गर्नु अत्यन्तै जरुरी हुन्छ । बिरामीलाई स्टेरोएड औषधिहरु कम गर्नुपर्छ र इम्युन मोड्युलेटिङ औषधि बन्द गर्नुपर्छ । कोभिड टास्क फोर्सका अनुसार शल्यक्रियाभन्दा अगाडि शरीरमा पानीको उचित मात्र कायम गर्न ४ देखि ६ हप्ता आइभी स्लाइन पानी चढाउनुपर्ने हुन सक्छ । यसअघि एन्टिफंगल थेरापी दिनुपर्छ जसमा अफ्टोटेरिसिन बी नामको सुइ प्रमुख हो ।

प्रतिक्रिया दिनुहोस