रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने, नेसनल हेल्थ केयरले पायो अनुमति

काठमाडौं – कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब स्वदेशमै उत्पादन हुने भएको छ।

औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ।

हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिए।

उनले भने, ‘हाल उत्पादनका लागि अनुमति दिएका हौँ। बजार बिक्रिका लागि भने अनुमति पाइसकेको छैन। औषधि उत्पादनको प्रक्रियामै छ। त्यो प्रक्रिया पुरा भएपछि बजार बिक्रिका लागि पनि अनुमति दिन्छौँ।’

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ।

नेसनल हेल्थकेयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

‘अंग्रेजी क्यालेन्डर अनुसार मे महिनाको अन्तिसम्ममा चीनबाट कच्च पदार्थ आउने छ,’ उनले भने, ‘त्यसपछि हामीले मापदण्ड अनुसार औषधि उत्पादन सुरु गर्ने छौं।’ उनले कच्चा पदार्थ आएको १५ दिनभित्र औषधि बजारमा लैजाने हिसाबले कम्पनीले काम अगाडि बढाएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस