म प्रष्ट छु, प्रधानमन्त्री हुने इच्छा आकांक्षा ममा छैन: महन्थ ठाकुर

काठमाडौं। वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा भइरहेका बेला स्वयम् ठाकुरले भने आफूलाई प्रधानमन्त्री हुने कुनै इच्छा-आकांक्षा नरहेको बताएका छन्। ठाकुरले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बाहिर चर्चा भएजस्तो आफूलाई कसैले [प्रधानमन्त्री प्रस्ताव नगरेको र आफूलाई प्रधानमन्त्री हुने कुनै इच्छा पनि नरहेको बताएका हुन्।

ठाकुरले भने, ‘म सुरुदेखि नै प्रष्ट छु, प्रधानमन्त्री हुने मेरो कुनै इच्छा आकांक्षा छैन।’

ठाकुरले राजनीति सम्भावनाहरुको खेल भएकोले चर्चामा आउनु र प्रधानमन्त्री हुनुमा धेरै अन्तर भएको बताए। उनले भने, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो।’

ठाकुरलाई जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्। नेपाली कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ। कांग्रेस भित्रको देउवा पक्षीय नेताहरु भने ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गर्न नहुने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस