सम्बन्ध विच्छेद गरेका र अविवाहित महिलालाई ४० कटेपछि मासिक भत्ता पाउने

काठमाडौं । पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । विवाह नगरी बसेका महिलाले पनि ४० वर्ष कटेपछि भत्ता पाउनेछन् ।

तर, ४० वर्ष कट्दैमा सबैले भत्ता पाउने छैनन् । सरकारले तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका महिलाले मात्र एकल महिला भत्ता पाउनेछन् ।

सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । ६० वर्ष नाघेका एकल महिला भने सबैले भत्ता पाउने व्यवस्था कायमै छ । यसअघि ऐनको दफा ७ मा ६० वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउने उल्लेख थियो ।

यस्तै ६० वर्ष उमेर नपुगेका तर सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका सरकारले तोकेको भन्दा न्यून आए भएका तथा श्रम गर्न नसक्नेलाई जुनसुकै उमेरका महिलालाई पनि सामाजिक सुरक्षा भत्ता दिइने व्यवस्था थियो ।

तर, अब ४० वर्ष पूरा नगरेसम्म भत्ता लिन नपाउने व्यवस्था गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलाले एकल महिला भत्ता पाउनेछन् ।

दफा ८ मा रहेको अपांगता भत्ता सम्बन्धी व्यवस्था पनि अध्यादेशमार्फत संशोधन गरिएको छ । जसमा पूर्ण अशक्त अपांगता भएका नागरिकले सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको अपांगता भत्ता पाउने व्यवस्थालाई संशोधन गरिएको छ ।

जसमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी प्रचलित संघीय कानूनबमोजिम पूर्ण अशक्त अपांगता वा अति अशक्त अपांगताको परिचय पत्र प्राप्त गरेका नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ता पाउनेछन् भनिएको छ ।

ऐनको दफा १५ मा रहेको सार्वजनिक पदमा नियुक्ति पाएको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने भनिएकोमा अबदेखि सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले मात्र नपाउने व्यवस्था गरिएको छ । त्यो वाहेक सार्वजनिक पदमा नियुक्ती भए पनि त्यसबाट हटिसकेपछि भने पाउन सक्ने व्यवस्था गरिएको छ । श्रोत नेपाल प्रेस

प्रतिक्रिया दिनुहोस