अढाई अर्बको कम्पनीमा ९,५०० कर्मचारी छन् तर मालिक भने साइकल चढेरै दैनिकी चलाउँछन्

बिबिसी नेपाली – “म कार्यालयबाट टाढा बसेर काम गर्ने प्रमुख कार्यकारी अधिकृत जस्तै हुँ,” टाढासम्म देखिएको हरियो धानखेत हेर्दै श्रीधर भेम्बुले भने। श्रीधर र उनका दुई भाइ मिलेर सन् १९९६ मा अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा जोहो स्थापना गरे। अहिले सो क्लाउड-आधारित सफ्टवेयर कम्पनीमा ९,५०० कर्मचारी छन् र फोर्ब्स पत्रिकाले उनीहरूको सम्पत्ति अढाई अर्ब रहेको अनुमान गरेको छ।

तर क्यालिफोर्नियामा करिब तीन दशक बिताएपछि श्रीधरले शान्त ठाउँमा सर्ने निर्णय गरेर दक्षिण भारतको एउटा सानो दुर्गम गाउँमा बसाइँ सरे। उनी बस्ने हराभरा गाउँ चेन्नाइबाट ६०० किलोमिटर टाढा रहेको तेन्कासी जिल्लामा पर्वत शृङ्खलाको फेदमा पर्छ।

त्यहाँ २,००० भन्दा कम मानिस बस्छन्। त्यहाँ बाटो छैन। पानी छैन र ढल सुविधा छैन। बिजुली छ तर अनियमित छ। त्यसैले भेम्बु डिजेलबाट चल्ने जेनरेटरमा भर पर्छन्।सिलिकन भ्यालीभन्दा यो धेरै नै भिन्न छ।

भेम्बुले कसरी त्यहाँबाट काम गरिरहेका छन् त?

एउटा महत्त्वपूर्ण सुविधा इन्टरनेटले दिएको छ त्यसैले श्रीधर उच्च गतिको इन्टरनेट सम्पर्कमा रहन्छन्। एउटा ठूलो र सफल कम्पनीका हाकिम भएका कारण उनलाई केही फाइदा पनि छ।

“मूल रूपमा मेरो भागमा महत्त्वपूर्ण नीतिहरूको काम आइपर्छ। कम्पनी अहिले ठूलो भएकोले धेरै निर्णयहरू टोलीसँग रहेर हामी स्थानीय रूपमै गर्छौँ,” उनले भने। कुनै पनि वरिष्ठ कार्यकारी वा व्यक्तिगत सहयोगी उनी नजिक बस्दैनन्। तर पनि यी डिजिटल उद्यमी दैनिक कामकाजमा व्यस्त रहन रमाउँछन्।

“मैले एउटा टोलीको प्रत्यक्ष रूपमा नेतृत्व गर्छु। म प्रोग्रामहरूसँग निकट भएर काम गर्छु र प्रविधिसम्बन्धी केही गहन परियोजनामा काम गर्छु। सफ्टवेयर टोलीसँग काम गर्ने इन्जिनियरहरू विश्वभरिबाट छन्।”

भेम्बु हालै बनाइएको दुई वटा शयन कक्ष भएको एउटा फार्म हाउसमा बस्छन् र गाउँले तरिकाको जीवन मन पराउँछन्। उनको घर वातानुकूलित छैन र कारको सट्टा उनी एउटा विद्युतीय रिक्सा र साइकल चलाउँछन्।

उनी बेलाबेला स्थानीय मानिससँग कुरा गर्न गाउँको चिया पसलमा जान्छन्। “मैले यहाँ खुब रमाइलो जीवन बिताइरहेको छु। मैले यहाँका र छिमेकी गाउँका मानिसहरूबारे धेरै थाहा पाउन सकेको छु।”

उनी अहिले सामान्य जिन्स र टिसर्टमा देखिन्छन् र कहिलेकाहीँ भारतका धेरै पुरुषले जस्तै उनी धोती लगाउँछन्। सञ्चारमाध्यममा उनका बारे समाचार आउने भएर उनलाई स्थानीयले चिन्छन्। तर पनि उनी आफूलाई सेलिब्रेटी जस्तो मान्दैनन्। उनले आफ्नो गाउँको नाम प्रकाशित नगर्न भनेका छन् किनभने उनी मानिसहरू खबरै नगरी नआउन् भन्ने चाहन्छन्।

“यहाँको ग्रामीण सामाजिक जीवन निकै फरक छ। मानिसहरूसँग राम्रो साथी बनाउने समय छ। मानिसहरूले घरमा खाना खान बोलाउँछन्। हालसालै म जब छिमेकी गाउँ गएँ मैले सायद १०/१५ जनासँग कुराकानी गरेँ।”

भेम्बुका अनुसार उनी कहिल्यै पनि धनी र तडकभडक भएका व्यापारी थिएनन् त्यसैले उनी यो गाउँमा सर्नु अघिको आफ्नो जीवन सम्झँदैनन्। “मैले कहिल्यै पनि गल्फ खेलिनँ। म कहिल्यै पनि सामाजिक प्राणी थिइनँ। म व्यापारका लागि यात्रा गर्थेँ तर अब त यी सबै भिडिओमार्फत नै हुन्छ।”

आफ्नो उद्योगमा आएका पछिल्ला कुराबारे थाहा पाउन उनी सामाजिक सञ्जाल प्रयोग गर्छन्। कोरोनाभाइरसको विश्वव्यापी महामारीले धेरै मानिसलाई घरबाटै काम गर्न बाध्य पारेको छ। तर भेम्बु भने यस खेलमा निकै अघि थिए। उनले महामारी अगाडि नै कर्मचारीहरूलाई घरबाट काम गर्ने सुविधा दिएका थिए।

उनको जोहो नामक कम्पनीले १० वर्षअघि नै भारतको तामिलनाडू राज्यमा कार्यालय स्थापना गरेको थियो। त्यसयता जोहोले भारतका थुप्रै ग्रामीण भेगमा ३० भन्दा बढी साना कार्यालयहरू खोलिसकेको छ।

उनी किन यहाँ आए?

भेम्बु भारतमा जन्मिएका हुन् र आफ्नो स्कुले दिनमा बिदाको समय पुर्ख्यौली घरमा बिताएको समय सम्झन मन पराउँछन्। अध्ययनका लागि अमेरिका गए पनि र उतै काम भए पनि उनी सधैँ भारतको आफ्नो गाउँमा उनी फर्किन चाहन्थे। श्रीधरले जब सान फ्रान्सिस्कोको बे एरिया छोडे उनको उक्त निर्णयप्रति उनका सहकर्मीहरू आश्चर्यचकित भएनन्।

“एक तरिकाले भन्ने हो भने श्रीधरले सधैँ कार्यालयमा नरही टाढा रहेर नै काम गरे। जब उनी क्यालिफोर्नियामा थिए, हाम्रा ९० प्रतिशतभन्दा बढी कर्मचारीले भारतको चेन्नाइस्थित कार्यालयबाटै काम गरे,” जोहो कम्पनीको मार्केटिङ तथा कस्टुमर एक्सपिरियन्सका उपप्रमुख प्रबल सिंहले भने।

“विभिन्न भूगोलमा हाम्रो टोली फैलिएकाले प्रमुख कार्यकारी अधिकृत कहाँ बस्छन् भन्ने कुराले हाम्रो कामलाई असर गर्दैन,” उनले भने। अमेरिका, ब्रजिल र लिङ्गापुर अनि भारतका विभिन्न गाउँमा रहेका आफ्ना कर्मचारीसँग भेम्बु निरन्तर अन्तर्क्रियामा रहन्छन्।

चेन्नइमा जोहोको ठूलो कार्यालय छ तर थुप्रै कर्मचारीहरू आफ्नो गृहनगरबाटै काम गर्न रुचाउँछन्
आफ्नो व्यवसाय सुरु गर्नुभन्दा अघि भेम्बुले भारत र अमेरिकाका उच्च शैक्षिक संस्थामा अध्ययन गरेका थिए। तर अहिले उनी शैक्षिक प्रणालीको निन्दा गर्छन्।
उनले मद्रासस्थित इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ गरे र त्यसपछि स्नातकोत्तर र विद्यावारिधिका लागि अमेरिकाको प्रिन्सटन विश्वविद्यालय गए।

तर पनि उनी आफ्नो सफलतामा शिक्षाको केही लेनादेना नभएको ठान्छन्। “म गणितको माथिल्लो क्षेत्रको प्राध्यापक बन्न तयारी गर्दै थिएँ तर अहिले म सामान्य हिसाबकिताब गरिरहेको छु।” श्रीधर भन्छन् विद्यार्थीले दैनिक जीवनमा कसरी प्रयोग गर्न सक्छन् भन्ने नबुझाई उनीहरूमा सन्दर्भ बिना सिद्धान्तको प्रवर्तन गर्नु अर्थहीन छ।

“म तालिमले विद्युत्सम्बन्धी इन्जिनियर हुँ। मैले म्याक्सवेलको समीकरण बढेँ र अहिले त्यसबारे म केही पनि सम्झन्नँ।” कसरी शिक्षा दिनुपर्छ भन्नेबारे देखाउन भेम्बुले “जोहो विद्यालयहरू” बनाएका छन् जसमा पढाउने र सिकाउने परम्परागत पद्धति अपनाउँदैनन्।

तालिमनाडूमा त्यस्ता दुई वटा विद्यालयहरू सञ्चालनमा छन्। र तेनकासी जिल्लामा रहेको एउटा विद्यालयमा उनी गइरहन्छन्। उनको विद्यालयमा सफ्टवेयर प्रविधि, व्यवस्थापन, सिर्जनात्मक लेखन, डिजाइनजस्ता विषयमा दुई वर्ष लामो कार्यक्रमहरू सञ्चालन गरिन्छ। यी विद्यालयमा भर्ना हुनका लागि १७ देखि २० वर्ष उमेरको हुनुपर्छ र कम्तीमा १२ वर्ष आधारभूत शिक्षा पाएको हुनुपर्छ।

विद्यार्थीहरूलाई खाना खान दिइन्छ र प्रति महिना १४० डलर पनि खर्च दिइन्छ। “हामी प्रोग्रामिङ सिकाउँछौँ,” उनी भन्छन्। “यहाँ काम गर्दै सिकिन्छ।” “तपाईँ कम्प्युटर विज्ञानको गहिरा सिद्धान्त नपढी उच्च कोटीको प्रोग्रामर बन्न सक्नुहुन्छ। यो कुरा सम्झन आवश्यक छ।” जोहो विद्यालयहरूमा तालिम पाएका करिब ९०० विद्यार्थीहरू अहिले श्रीधरको कम्पनीमा कार्यरत छन्।

आफ्नो कार्यालयमा श्रीधर

बिल गेट्स र वारेन बफेटजस्ता केही अर्बपतिले मात्रै आफ्नो ठूलो सम्पत्तिको हिस्सा परोपकारी काममा लगाएका छन्। तर भेम्बु पश्चिमा शैलीलाई नक्कल गर्न इच्छुक छैनन्। उनी आफ्नो व्यापारमा सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण रहेको तर्क गर्छन्।

“हामी धेरै गर्न चाहन्छौँ र त्यसलाई परोपकारी कामको संज्ञा दिन चाहँदैनौँ। जब हामी रोजगारीका लागि क्षमता विकासमा लगानी गरिरहेका छौँ भने हामी कम्पनीलाई मद्दत गरिरहेका छौँ र जो तालिम लिइरहेको छ उसलाई पनि सहयोग पुर्‍याइरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस