प्रेमीले आत्महत्या गरेपछि गाउँलेले जबरजस्ती लाशको हातबाट प्रेमिकाको सिउँदोमा सिन्दूर हालिदिए

भारतको पश्चिम बंगालको बर्दवानमा गाउँलेहरुले मरिसकेका प्रेमीको लाशको हातबाट प्रेमिकाको सिउँदोमा सिन्दूर हालिदिएका छन् । भारतीय मिडियाका अनुसार ती प्रेमीले झुण्डिएर आत्महत्या गरेका थिए । यो घटनाबाट रिसाएका स्थानीयले जबरजस्ती मृतक प्रेमीको हातबाट प्रेमिकाको सिउँदो भरिदिएका हुन् । यो घटनाको भिडियो भाइरल भएपछि पुलिसले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

जानकारकिा अनुसार यी प्रेमी–प्रेमिका फरक फरक धर्मका थिए । दुवैका परिवार यो बिहेका लागि तयार थिए तर उनीहरु नाबालिग भएकोले किशोरीकी आमा यो बिहेका लागि तयार भइनन् । यही कारण प्रेमी जोडीबीच विवाद भयो र प्रेमीले आत्महत्या गरे । आत्महत्या गर्नुभन्दा पहिले किशोरले फोनमा प्रेमिकासँग कुरा गरेका थिए । फोनमा उनले प्रेमिकालाई आफूले आत्महत्या गर्न लागेको बताएका थिए । उनले प्रेमिकालाई ह्वाट्सएपमा फोटो पठाएर आत्महत्या गरे ।

घटनाको जानकारीपछि पुलिसले शवको मुचुल्का उठाएर पोस्टमार्टमको लागि पठाएको थियो । पोस्टमार्टमपछि पुलिसले किशोरको शव परिवारलाई दियो । तर, जब शव गाउँ पुग्यो त्यसपछि विवाद फेरि सुरु भयो । बताइए अनुसार गाउँलेहरुले यस विषयमा किशोरी र उनकी आमालाई दोषी भन्दै दुवैलाई कुटपिट गरेका थिए । गाउँलेले उनीहरुलाई जबरजस्ती घरबाट उठाएर शव भएको ठाउँमा लिएर गए त्यसपछि किशोरको लाशको हातबाट किशोरीको सिउँदोमा सिन्दूर हालियो ।

किशोर बर्दवानको कांटापुरका भएको बताइएको छ । छिमेकीहरुका अनुसार किशोरीलाई आफ्ना प्रेमीले आत्महत्या गर्न लागेको थाहा थियो । उनीसँग किशोरकी आमाको फोन नम्बर पनि थियो तर पनि उनले आत्महत्या गर्न लागेको खबर परिवारलाई दिइएन । समयमै परिवारले थाहा पाएको भए किशोरलाई बचाउन सकिने गाउँलेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस