दाेस्राे पुस्तामा छलफल जारी!!!!!!

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा पार्टी एकताको प्रयास तथा त्यसको समीक्षात्मक छलफल हुने बताइएको छ ।

 

पछिल्लो केही दिनमा असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग नियमित छलफल भइरहेको छ । सकेसम्म पार्टी फुट्न नदिनेतर्फ पहल भइरहेको र छलफल सकारात्मक दिशामा उन्मुख भएको बुझाई नेताहरुको छ । यसअघि थप १२ जना नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको भएपनि एमालेले कारवाही प्रक्रिया अगाडि बढाएको छैन । यद्यपि १२ जना नेताहरुबाट स्पष्टीकरणको जवाफ आएको छैन ।स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार असन्तुष्ट नेताहरुसँग नियमित औपचारिक र अनौपचारिक छलफल भइरहेकाले पार्टीले तत्काल कारवाहीको ठोस निर्णय गर्नेछैन । आज ४ बजे बस्ने बैठकमा पार्टी भित्रको आन्तरिक विवाद र सहमतिको प्रयासका विषयमा समीक्षात्मक छलफल हुने उहाँले बताउनुभयो । साथै अहिले देखिएका समस्या र समाधानका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

असन्तुष्ट पक्षका नेता गोकर्ण विष्टले सकेसम्म पार्टीलाई फुट्न नदिनेतर्फ आफूहरुको जोडबल रहेको भएपनि परिणाम आउन बाँकी रहेको बताउनुभयो । “पार्टी फुटेर जावस् भन्ने कसैको चाहना होइन, आन्तरिक व्यक्तिगत तथा पार्टीगत निर्णयका समस्या छन् भने त्यसलाई करेक्सन गरेर जाउँ भनेका छौं” उहाँले थप्नभयो, “छलफल सकारात्मक रुपले अघि बढेको छ, ढिलोचाँडो परिणाममा पुग्न सकिएला भन्ने विश्वास पलाएको छ, तर परिणाम नआउँदासम्म यसै भन्न सकिदैन ।”एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले असन्तुष्ट नेताहरुलाई पार्टीको सहमतिमा ल्याउने हरप्रयास जारी रहेको बताउनुभयो । “अरु दलका नेताहरुलाई त विश्वासमा लिएर पार्टी प्रवेश गराउन सकिन्छ भने उहाँहरु त आफ्नै पार्टीका नेताहरु हुनुहुन्छ” नेता तामाङले थप्नुभयो, “असन्तुष्ट १२ जना नेताहरुलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधिएको हो, जवाफ आएको छैन, पार्टीले चाहेको भए दुई तीन दिन अघि नै कारवाही गरिसक्थ्यो तर सहमति हुन्छ भन्ने आशामै प्रक्रिया अघि नबढाइएको हो ।“

 

नेताहरुको आफ्नो असन्तुष्टि खुलेर आन्तरिक छलफलमा राखिरहनुभएको छ, दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु छलफलमा व्यस्त रहनुभएको चर्चा गर्नुहुँदै नेता तामाङ्ले असन्तुष्ट सबै नेताहरु सहमतिमा नआएपनि धेरै नेताहरु आउने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस