स्वास्थ्यकर्मीको भनाइ खोप लगाएकाहरू संक्रमित भए ता पनि गम्भीर समस्या नदेखिएको !!!

रूपन्देही/बाँके — रुघा लागेपछि बुटवलस्थित लुम्बिनी नर्सिङ होममा कार्यरत डा. प्रदीपजंग केसीले गत वैशाख २२ गते पीसीआर जाँच गराए । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनले रुघा निको भइसकेको र अन्य लक्षण नदेखिएको बताए । ‘कुनै गम्भीर लक्षण थिएन,’ उनले भने, ‘परिवारका सदस्यलाई संक्रमण नहोस् भनेर सावधानी अपनाएँ ।’

उनले कोभिड–१९ विरुद्ध खोपका दुवै मात्रा लगाइसकेका छन् । कोरोना र यसको प्रभावसम्बन्धी अध्ययनका साथै विभिन्न माध्यमबाट सूचना लिने काम गरिरहेको उनले जनाए । उनका अनुसार गत वर्षको तुलनामा फ्रन्टलाइनरमा कम संक्रमण पुष्टि भइरहेको छ । परीक्षणका लागि खोप ल्याइएको हो भन्ने बुझेर नलगाउँदा केही व्यक्ति प्रभावित बनेको उनले सुनाए । उनकी श्रीमती डा. नीता श्रेष्ठलाई संक्रमण देखिए पनि स्वास्थ्यमा कुनै समस्या छैन । ‘हामीले बेलैमा खोप लगायौं र अहिले सुरक्षित बन्यौं,’ डा. केसीले थपे, ‘तर, दिनहुँ संक्रमितको पीडा देख्दा मन दुख्छ ।’

हल्का ज्वरो आउने, रुघा लाग्ने भएपछि गत वैशाख ६ गते डा. प्रशान्त आचार्यले पीसीआर परीक्षण गराए । उनलाई कोरोना पोजिटिभ देखियो । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका रेडियोलोजिस्ट डा. आचार्यले कोरोना संक्रमितको उपचारमा खटिने क्रममा संक्रमण पुष्टि भएको बताए । संक्रमण भएपछि होम आइसोलेसनमा बसे । ज्वरो, रुघा र शरीर दुख्ने समस्या केही दिनसम्म रह्यो । त्यसबाहेक स्वास्थ्यमा कुनै असर नपरेको उनले बताए । ‘कोरोनाविरुद्धको खोप लगाएकाले नै सुरक्षित भएँ,’ उनले भने । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स मेलिना भूर्तेल पनि संक्रमित भइन् । तर १२ दिनमै संक्रमण मुक्त भइन् । कोभिसिल्ड भ्याक्सिनका दुवै डोज लगाएकाले आफूलाई गम्भीर लक्षण नदेखिएको चिकित्सकबाट थाहा पाएको उनले बताइन् ।

रूपन्देहीकै देवदह नगरपालिकाकी नर्सिङ अधिकृत माया पुनलाई कोरोना संक्रमण भएको छ । अहिले आराम गरिरहेकी उनले आफूलाई कुनै लक्षण नदेखिएको बताइन् । ‘खोप लगाएकाले केही हुन्न भनेपछि अभिभावकमा रहने त्रास पनि हटेको छ, काममा निरन्तरता दिन सकिरहेका छौं,’ उनले भनिन् । बाँकेको भेरी अस्पतालस्थित प्रयोगशाला प्रमुख प्रसन्न मिश्र स्वाब परीक्षण गर्दा सधैं पीपीई सेटमा हुन्छन् । एक वर्षदेखि यही पोसाकमा देखिन्छन् । गत वर्ष पीपीई लगाएपछि ढुक्क महसुस गर्थे । यसपालि विश्वास झन् दह्रो भएको छ ।

कोरोनाविरुद्धको खोपका दुवै डोज पूरा गरेकाले मनोबल बढेको उनले बताए । अहिलेसम्म ६० हजार स्वाब परीक्षण गरिसकेका उनले कोरोनाको पहिलो लहरभन्दा अहिले बढी सुरक्षित भएको महसुस गरेको बताए ।भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले दुवै डोज खोप लगाइसकेका छन् । उपचारमा दिनरात खटिने क्रममा संक्रमित भएका थिए । करिब तीन साता आइसोलेसनमा बसेपछि निको भए ।

भेरी अस्पतालमा वैशाखयता १ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । खोप लगाएका सबैको अवस्था सामान्य छ । कसैलाई आईसीयू र अक्सिजन आवश्यक परेको छैन ।मिश्रका अनुसार खोप नलगाएका दुई स्वास्थ्यकर्मीलाई आईसीयूमा भर्ना गर्नुपरेको थियो । खोप लगाएका संक्रमित भइहाले पनि सिकिस्त नभएको उनले बताए । ‘गत वर्ष धेरै आत्मविश्वास थिएन,’ उनले भने, ‘कस्तो रोग हो ? कसरी सर्छ ? सुरक्षा कसरी अपनाउने जस्ता दुविधा र अन्योल थियो ।’ यसपालि समयमै खोप लगाएकाले ढुक्क बनाएको उनले बताए l

फिजिसियन पाण्डेका अनुसार चिकित्सा भाषामा एउटा ‘इन्फेक्सन’ र अर्को ‘डिजिज’ शब्द छन् । इन्फेक्सन भनेको कीटाणु पस्ने वा बस्ने भनेको हो । ‘डिजिज भनेको लक्षण देखाएर बिरामीलाई निष्क्रिय पार्ने भनेको हो,’ उनले भने, ‘भ्याक्सिनले बिरामीलाई निष्क्रिय हुनबाट जोगाउँछ ।’

प्रतिक्रिया दिनुहोस